झगडा छुटयाउन जाँदा ज्यान गयो

२१ जेठ, खोटाङ । दुई समूहबीच भएको झगडा छुटयाउने क्रममा छुरी प्रहारबाट खोटाङमा एक जनाको ज्यान गएको छ । पाथेका र जालपाका युवाबीच भएको झगडा छुटयाउने क्रममा पाथेकाका युवाको छुरी प्रहारबाट खार्मी-६ का ४० वर्षीय ध्रुव श्रेष्ठको ज्यान गएको हो ।



साकेला पर्वको अवसरमा खार्मीको तुर्खास्थित भूमेस्थानमा सोमबार भूमे पूजा तथा साकेला नाच भइरहेको समयमा दुई समूहबीच भएको दोहोरो झडप छुटयाउन गएका श्रेष्ठको छुरी प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । झगडा छुटयाउनेक्रममा खार्मी-९ का इखबहादुर राईसहित तीन जना घाइते भएका छन् । छुरी प्रहारमा संलग्न पाथेका-२ का २५ वषर्ीय अविन राई, पाथेका-६ का ज्ञानराज राई, पर्वत राईलगायतको समूह फरार रहेको प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताउनुभयो ।

अहिले प्रहरी टोलीले फरार युवाहरुको खोजी गरिरहेको छ । मृतक श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ । पुरानो रिसइवीका कारण जालपा र पाथेकाका केही युवाबीच झगडा भएको प्रहरीको भनाइ छ । खार्मीको तुर्खामा हरेक वर्ष वैशाख पूणिर्माको दशमीका दिन भूमे पूजा गर्दै धुमधामका साथ साकेला नाच नाच्ने प्रचलन रहिआएको छ । रासस