वैद्यले माफी मागेपछि ३३ दलमा मिलाप, चुनावको विरोधमा रत्नपार्कमा प्रदर्शन

३१ जेठ, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सहयात्री दलहरुसँग शुक्रबार बिहान माफी माग्नुभएको छ । उपेन्द्र यादव र अशोक राई समुहसँग सहकार्य गर्ने निर्णयमा प्रक्रिया नपुगेको भन्दै केही दलहरु रिसाएपछि वैद्यले बिहान पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकमा आत्मालोचना गर्नुभएको हो ।



वैद्यले आत्मालोचना गरेपछि ३३ दल एकढिक्का भएका छन् भने फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी दलसँग मिलेर निर्वाचन प्रक्रियाको विरोधमा सडकमा उत्रिएका छन् ।

शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि उनीहरुले रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले सरकारको पछिल्लो कदमले मुलुकमा प्रतिक्रान्ति सुरु भएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताउनु भयो । भारतको निर्देशन अनुसार चुनावको निर्वाचन घोषणा भएको भन्दै उहाँले यसलाई नेपाली जनताले स्वीकार नगर्ने दावी गनुभयो ।

शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।

चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।