नुवाकोट बन्दले जनजीवन प्रभावित

१२ असार, नुवाकोट । नुवाकोटको किम्ताङका पहिरोपीडितलाई विदुर नगरपालिकाको खम्पाक्याम्पमा पुनर्वास गराउन लागिएको भन्दै विदुर नगरपालिका – ६ का स्थानीयवासीले मङ्गलबारदेखि गरेका नुवाकोट बन्द आज पनि जारी छ ।



बन्दका कारण सदरमुकाम विदुरको जनजीवन प्रभावित भएको छ भने रसुवा जिल्ला पनि प्रभावित भएको छ । बन्दका कारण काठमाडौँ-त्रिशूली सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन । विदुर नगरपालिका-६ का बासिन्दा र जिल्लास्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले विनपा खम्पाक्याम्प जग्गा बचाउ सङ्घर्ष समिति गठन गरी सोही समितिमार्फत बन्द गरेका हुन् ।

नुवाकोटकै किम्ताङका पहिरोपीडितलाई पुनर्वास गराउन जिल्ला दैवीप्रकोप उद्धार समितिले गत शुक्रबार चण्डीपोखरीस्थित खम्पाक्याम्पको जग्गासमेत विकल्पका रूपमा सिफारिस गरेपछि सो जग्गा नबाँड्न सरकारलाई दबाब दिने उद्देश्यले स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् ।

किम्ताङका ४ सय ८ परिवार पहिरोबाट प्रभावित रहेका र उनीहरूलाई तत्काल सुरक्षित ठाउँमा सार्नका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले सरकारलाई सिफारिस गरेको थियो । गाउँभन्दा तलबाट बर्सेनि फैलिँदै गएको पहिरोले गाउँ नै खतरामा पारेपछि किम्ताङवासीले पुनर्वासको माग गर्दै आएका छन् ।