निर्माता भन्छन् ‘ चिया पिउँने भन्दै मलाई अपरहण गरियो’

चलचित्र ‘जय होस्’ निर्माण गरेर ८० लाख भन्दा धेरै घाटा बेहोरेका निर्माता सुदन धितालले आफूलाई आफ्नै २ साथीहरुले अपरहण गरेको बताएका छन् । चलचित्र निर्माणको समयमा सहकार्य गरेका निर्देशक डाक्टर घनश्याम खतिवडा र माधव पण्डितले अपहरणको शैलीमा लगेर जर्बजस्ती आफूलाई २ लाख ३४ हजारको क्रृण थुपारेको धितालको तर्क छ ।माधव पण्डितको नाममा ‘ओस्कार सहकारी’बाट लिइएको १ लाख ५० हजार बराबरको क्रृण नतिरेपछि घटनाले उग्र रुप लिएको हो । सोमबार बुलेकी आफू वितरक सुनिल मानन्धरको अफिसमा रहेको अवस्थामा चिया पिउन जाउँ भन्दै बाहिर लगेर ट्याक्सीमा राखेर ओस्कार फाइनान्स पुर्‍याइएको धितालले अनलाइनखबरलाई बताए । उनले माधवले लिएको १ लाख ५० हजार बराबरको क्रृणको सावा र ब्याज सहितको २ लाख ३४ हजार आफ्नो नाउँमा जर्बजस्ती सारिएको बताएका छन् ।



तर यता माधव पण्डित भने चलचित्र ‘जय होस’् बनाउँदा सहकारीबाट धितालले १ लाख ५० हजार झिकिदिन आग्रह गरेपछि खाता खोलेर ऋण झिकेको बताउँछन् । तर ४ बर्षसम्म पनि धितालले ऋण तिर्न आनाकानी गर्दै हिडेपछि आफूले बारम्बार भेट्न आग्रह गरेको भन्दै पण्डितले भने, ‘मलाई बारम्बार विभिन्न ठाउँमा बोलाएर पनि नभेटेपछि सोमबार बेलुकी सुनिल मानन्धरको मा गएको हुँ ।’ चिया पसलमा सबै कुरा गरेर कागजमा हस्ताक्षर गर्न आग्रह गरेपछि धितालले सहमती जनाउँदै ओस्कार सहकारीमा पुगेर आफ्नो नाउँमा ऋण ट्रान्सफर गरेको पण्डितले बताए ।

चलचित्र ‘जय होस्’को निर्माणको समयमा निर्देशक डाक्टर घनश्याम खतिवडा, निर्माता सुदन धिताल र माधव पण्डितले १० १० लाख लगानी गरेर सिनेमा बनाउँने भन्दै ‘जीएसएम मिडिया क्याम्प’ दर्ता गरेका थिए । तर पछि कसैले पनि लगानी नगरेपछि आफूले घर खडेरी नै बैंकमा राखेर सिनेमा पुरा गरेको तर्क धितालको छ । तर माधव पण्डित भने तिन जनाको नाउँमा स्थापना गरिएको कम्पनीबाट जर्बजस्ती केटाहरु लगाएर आफ्नो नाउँ हटाइएको बताउँछन् । अहिले पनि सुदन धितालले केटाहरु लगाएर आफूलाई दुख दिएको भन्दै पण्डितले आफू मानसिक तनावमा रहेको अनलाइनखबरलाई बताएका छन् ।

अरुले लिएको ऋण जर्बजस्ती आफ्नो नाउँमा सारिएको भन्दै धितालले आफ्नो मोटरसाइकल पनि सहकारीले रकम नतिरेसम्म नदिने भन्दै जफत गरेको बताए । यो घटना पश्चात निर्माता धितालले हनुमानढोका प्रहरी प्रभागमा उजुरी दिने बताएका छन् ।