बाबु छोरा झुन्डिएर गरे आत्महत्या

५ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–११ स्थित भुजेलामा बाबु छोरा झुन्डिएर मरेको अवस्थामा फेला परेका छन् । लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको उपचार गर्न नसक्दा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

४८ वर्षीय बाबु राजेश टमटा र १९ वर्षीय छोरा अजु टमाटाले घरभित्र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक विर्खबहादुर रावलले बताएका छन् ।

ती दुवै बाबु छोरा एक घरमा बस्ने गरेका र अर्को घरमा राजेशका जेठा छोरा र बुहारी बस्ने गरेका थिए । घटनाको विस्तृत जानकारीका लागि प्रहरीले मृतकका जेठा छोरा र बुहारीसँग सोधपुछ गरिरहेको छ ।

उपचार गर्न नसक्ने भएपछि दुवैजनाले एकसाथ झुन्डिएर आत्महत्या गरेका वा पहिला छोराको हत्या गरी आत्महत्या गरेको भन्ने आशङ्का देखिएको छ प्रहरी नायब उपरीक्षक रावलले बताएका छन् ।

छोराको उपचारका लागि राजेशले आफन्त, छिमेकी र नातागोताबाट ऋण लिएका थिए । उनलाई ऋणको चिन्ताले सताउने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।