३३ दलको बन्दले देशभरको जनजीवन प्रभावित बन्द नगर्न सरकारको आग्रह

२५ चैत, काठमाण्डौं । नेकपा-माओवादीसहित वर्तमान सकारको विपक्षमा रहेका ३३ दलले आह्वान गरेको बन्दका कारण आज विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने अत्यावश्यक काममा जाने सर्वसाधारण पैदल हिँड्न बाध्य भएका छन् ।

नेकपा-माओवादीसहितका दलले प्रमुख चारदलको निर्णय प्रति असहमति जनाउँदै वर्तमान सरकारको विरोधमा बन्द आह्वान गरेका हुन् । बन्दकर्ताले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गरेका छन् ।

बन्दकर्ताहरु विहानैदेखि मुख्य सडक र चोक चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

 बन्द फिर्ता दिन सरकारको आग्रह

यसैबीच सरकारले आजको बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ । ‘केही आन्दोलकारी राजनीतिक दलहरुको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको छ’ सरकारका प्रवक्ता एवं सूचनातथा सञ्चारमन्त्री माधव पौडेलद्वारा शनिबार जारी वक्तव्यमा भनिएको छ-’२५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन नेपाल सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण घटकहरुलाई हार्दिक आह्वान गर्दछ ।’

वक्तव्यमा सम्वाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधान गर्न सरकार खुल्ला रहेको उल्लेख छ । सरकार र उच्चस्तरीय राजनीतिक समतिले वार्तामा बोलाएपनि आन्दोलनकारी दलहरुले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।

वक्तव्यको पूर्णपाठ