सुत्केरी मृत्युले अस्पतालमा तनाव

चितवन, जेष्ठ २८ – उपचार क्रममा सुत्केरीको मृत्युपछि आफन्तको प्रदर्शनले चितवन मेडिकल कलेजमा दोस्रो दिन दिनभर तनाव भएको छ । चिकित्सकको लापरबाहीले सुत्केरी मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पताल परिसरमा बिहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रहरीले बल प्रयोग गरी धर्नामा बसेकालाई हटाउन खोज्दा सोमबार पटकपटक झडप भएको थियो । प्रहरीको लाठीबाट १९ जना घाइते भएको पीडितका छिमेकी ओमप्रसाद गौतमले जनाए । प्रदर्शनमा उत्रेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपले अस्पताल आएका बिरामी प्रभावित भए । प्रदर्शनकारीलाई हटाउन खोज्दा अस्पताल अगाडिको पूर्वपश्चिम राजमार्ग बेलुका केहीबेर अवरुद्ध रह्यो । कहिल्यै नदेखिएको रोग देखाएर चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आफन्तले आरोप लगाए ।

अप्रेसनबाट बच्चा जन्मिएको ६ दिनपछि आइतबार चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी भरतपुर १२ वसन्तचोककी २१ वषर्ीया भवानी खतिवडा घिमिरेको ज्यान गएको थियो । शल्यक्रियाबाट बुधबार बच्चा जन्मिएपछि उनको अवस्था सामान्य थियो । प्रहरीले मृतकका श्रीमान् कृष्णराजसहित ३ जनालाई पक्राउ गरेको छ । अस्पतालले सुत्केरीको मृगौलाले काम नगर्दा मृत्यु भएको सार्वजनिक गरेको छ । घटना विवरणअनुसार व्यथा लागेपछि भवानीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

भोलिपल्ट सामान्य अवस्थामा बच्चा जन्मन नसक्ने कारण देखाई डा. लोकबहादुर सेढाइर्ं, डा. जगतप्रसाद दीप, डा. बन्दना खनाल न्यौपानेसहितको समूह शल्यक्रियामा संलग्न थिए । आमा र बच्चाको आइतबार बिहानसम्म अवस्था सामान्य थियो । आधा घन्टाअघिसम्म खाना खाएकी सुत्केरी दिउँसो १२ बजेपछि अचेत बन्दै गइन् । ‘के भयो भन्दै करायौं, डाक्टरको लापरबाहीले मृत्यु भयो,’ कुरुवा सम्झना घिमिरेले भनिन्, ‘पछि डाक्टरहरूले मृगौला फेल भएर मृत्यु भएको भन्दै पन्छिए ।’ अस्पताल भर्ना गरेदेखि कुनै दिन डाक्टरले मृगौला समस्या नदेखाएको उनले दाबी गरिन् । अस्पतालले बच्चा जन्मिएपछि भवानीको शरीरमा कलेजो र मृगौलाको खराबी देखिएको बताए । शनिबारमात्र मृगौलाले काम गरेको थिएन, निर्देशक दयाराम लम्सालले कान्तिपुरसँग भने, ‘शल्यक्रियापछि कतिपय बिरामीलाई मृगौला समस्या अचानक देखिन्छ ।’ यही कारण उनको एक्कासि मृत्यु भएको उनले दाबी गरे ।