प्रेस काउन्सिलद्वारा पत्रकार पन्तको रिहाइको माग ,गिरफ्तारीविरुद्ध पत्रकारहरुको ऐक्यवद्धता

७ असार, काठमाडौं । नेपाली हेडलाइन्स डटकमका पत्रकार सुशील पन्तलाई हनुमानढोका प्रहरीले पक्राउ गरी हिरासतमा राखेकोप्रति नेपाल प्रेस काउन्सिल लगायत विभिन्न समाचार संस्थाले आपत्ति जनाएका छन् ।

हेडलाइन्समा डिल्लबिजारस्थित कन्या स्कुलको ट्वाइलेटमा भान्टा भेटिएको समाचार लेखेका कारण पन्तलाई प्रहरीले विद्युतीय कारोवार ऐन लगाएर पक्राऊ गरेको हो । अनलाइनपत्रिकामा समाचार लेखेवापत प्रहरीले पक्राउ गर्ने कार्यको नेपाल प्रेस काउन्सिलले विरोध गरेको छ । शुक्रबार विहान सिनामंगलस्थित काउन्सिलको कार्यालयमा बसेको बैठकले पन्तको रिहाइको माग गरेको छ । कुनै पनि समाचारबारे चित्त नबुझे कारवाही चलाउने निकाय प्रेस काउन्सिल भएकाले अनलाइन पत्रकारमाथि विद्युतीय कारोबार ऐन लगाउन नमिल्ने कायन्सिलको भनाइ छ ।

बैठकपछि पन्तलाई भेट्न र रिहाइको पहल गर्न प्रेस काउन्सिलका पदाधिकारीहरु हनुमानढोका डेलिगेसन जाने निर्णय गरिएको काउन्सिलका सदस्य मनऋषि धितालले अनलाइनखबरलाई बताउनुभयो ।

प्रेस काउन्सिलका सदस्य एवं साप्ताहिक पाक्षिक राष्ट्रिय सञ्जालका महासचिव किशोर श्रेष्ठले पनि समाचार लेखेकै भरमा अनलाईन पत्रकारमाथि विद्युतीय कारोबार ऐन लगाउनु विभेदकारी कार्य भएको भन्दै पन्तको गिरफ्तारीको विरोध गर्नुभयो । पन्तको गिरफ्तारी विरुद्ध थालिएको अभियानमा अनलाइन मिडिया एशोसिएसन नेपालका अध्यक्ष दिनेश बस्नेतले पनि ऐक्यवद्धता जनाउनुभएको छ । पन्तको गिरफ्तारीबारे बुझ्न पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री माधव पौडेलका प्रेस सल्लाहकार मात्रिका पौडेल शुत्रबार बिहानै हनुमानढोका पुग्नुभएको छ । तर, प्रहरीले आफूहरुलाई पन्तसँग भेट गर्न नदिएको पौडलसँगै हुनमानढोका पुग्नुभएका प्रेस चौतारीका कोषाध्यक्ष विश्वमणि सुवेदीले बताउनुभयो । source:onlinkhabar