सिरियामा कार बम विष्फोट ,९ जना सुरक्षा अधिकारीको मृत्यु

सिरियाको राजधानी दमासकसमा अवस्थित जुवार जिल्लाको प्रहरीचौकी नजिकै एक कार बम विष्फोटमा परी कम्तीमा पनि ९ जना सिरियाली सुरक्षा अधिकारीको मृत्यु भएको एएफपी समाचार संस्थाले जनाएको छ ।



सिरियामा रहेका मानव अधिकावादीहरुले यसको जानकारी दिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्युमन रायइट्सका निर्देशक रामी अब्दुल रहमानले यो घटनाको जानकारी गराएको एएफपीले जनाएको छ ।

यता सिरियाली सरकारी समाचार समिति सानाले जुवार जिल्लामा एक कार बम विष्फोट भएको जनाएको छ, तर कति मानिस मरे त्यसको कुनै जानकारी दिएको छैन ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले सिरियामा सबै पक्षबाट भइरहेको नागरिक हताहतिलाई रोक्न आव्हान गरेका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजीनामा माग गर्दै आन्दोलन शुरु भएको हो । त्यो आन्दोलन आजसम्म पनि जारी छ ।

सिरियाली आन्दोलनमा परी ९४ हजार नागरिकको ज्यान गएको एक तथ्यांकले जनाएको छ ।