हवाइजहाजमा भन्दा कम छैन बसभित्रको सुविधा ! (फोटो फिचर) ,'एक वर्षभित्र साधारण बस विस्थापित हुन्छन्'
२१ जेठ, काठमाडौं । केही वर्ष पहिले ‘भिडियो कोच’ लेखिएको लामो यात्राका बसमा यात्रुहरु आकषिर्त हुन्थे । यात्रा अवधिभर सिटमा अडेस लगाएर भिडियो हेर्न पाइने भएकाले लामो यात्रा गर्नेहरुले यस्तै बस रोज्थे । भिडियो बसमा यात्रुको आकर्षण बढ्न थालेपछि बसवालाहरुले प्राय सबै बसमा यस्तै सुविधा थपे । कसैले यात्रु चढाउने बेलामा मात्रै भए पनि भिडियो खोलेर बस भरे । कतिले भिडियोकोच लेखेर सिरक कोच्ने गर्छन् भनेर पनि व्यंग्य भयो ।
राजधानीबाट पूर्वपश्चिम चल्ने बसहरुमा यात्रुलाई लोभ्याउन अब ‘भिडियो कोच’ लेखेर मात्र हुँदैन, साँच्चिकै सुविधा पनि दिनुपर्छ भनेर यातायात व्यवसायी लागिपरेका छन् । झण्डै एकवर्षदेखि बिभिन्न कम्पनीका रात्री बसले एसी र डिलक्स सेवा शुरु गरेका छन् । ‘यात्रुलाई साँच्चिकै सुविधा दिने गरी व्यवसायीहरु लागेका छन्’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले अनलाइनखबरसित भन्नुभयो-’पूर्व र पश्चिम चल्ने धेरै रात्रीबसमा एसी र डिलक्स सेवा छ ।’
पूर्वका बिभिन्न जिल्लामा चल्ने मेट्रो, मितेरी, मकालु, सिता लगायतका बसले एसी र डिलक्स सेवा दिएका छन् । यस्तै पश्चिममा चल्ने महाकाली, सुदूरपश्चिम, साकिरा लगायत कम्पनीको पनि एसी र डिलक्स सेवाका बस छन् । यी बसका अगाडि, पछाडि जता बसे पनि उत्तिकै आरामदायी र सुविधा हुने व्यवसायीहरु बताउँछन् ।
एसी बसमा एसी, पंखा, लचकदार र आरामदायी सिटको सुविधा हुन्छन् । डिलक्समा चाहिँ एसी बाहेकका अरु सुविधा हुन्छन् । यी बसमध्ये कतिले यात्रुलाई आफैं खाना खुवाउँछन् । प्लेनमा जस्तै यात्रुलाई कुरकुरे, बदाम, दालमोठ र पानीको सुविधा पनि छ । ‘सबैभन्दा मुख्य कुरा यस्ता बसले बीचमा यात्रु चढाउने र अनावश्यक रुपमा रोक्ने गर्दैनन्’-सिटौलाले भन्नुभयो ।
सामान्य बसमा मान्छे चढ्न छाडे
एसी र डिलक्स बस शुरु भएलगत्तै अरु सामान्य बसमा यात्रु कम मात्रै चढ्ने गरेको व्यवसायीहरुको भनाइ छ । ‘पूर्व र पश्चिमका मुख्य शहरसँगै पोखरा, बुटवल लगायतका धेरै शहरमा यस्ता बस चल्न थालिसकेका छन्’ सिटौलाले भन्नुभयो-’यही स्थितिमा जाने हो भने अबको एक वर्षमा साधारण बस विस्थापित भैसक्छन् ।’
पर्यटक बसमा भन्दा पनि राम्रो सुविधा एसी र डिलक्स बसले दिएको उहाँको दाबी छ । ‘अहिले खोजेको दिनमै टिकट नपाउने अवस्था छ’ सिटौलाले भन्नुभयो-’सात दिनसम्मको लागि बुकिङ पहिल्यै हुने गरेको छ, ३० प्रतिशत यात्रु यस्ता बसमा तानिएका छन् ।’
पूर्व र पश्चिममा चल्ने झण्डै ५ सय बसमा एसी र डिलक्स सुविधा छ । ‘सुविधा अनुसार पैसा दिन यात्रु तयार देखिन्छन्’ सिटौलाले भन्नुभयो-’डिलक्समा सामान्य बसमा भन्दा २० प्रतिशत र एसीमा ४० प्रतिशत बढी भाडा पर्छ ।’
यस्ता बस दिल्लीमा बनेका हुन् । एसी बसलाई ६५ लाख र डिलक्सलाई ५८ लाख रुपैंया पर्ने व्यवसायीहरुको भनाइ छ ।