ट्याक्सी भाडा होडिङबोर्डमा पनि

१४ जेठ, काठमाडौं । राजधानीमा चल्ने ट्याक्सीले जथाभावी भाडा लिएर यात्रुलाई ठगी गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले विशेष निगरानी थालेको छ । यसअघि १४ सयभन्दा बढी ट्याक्सी चालकलाई कार्वाही गरिसकेको ट्राफिक प्रहरीले एसएमएस मार्फत भाडा थाहा पाउने व्यवस्था शुरु गरिसकेको छ । साथै होर्डिङबोर्ड मार्फत पनि ट्याक्सी भाडाबारे जानकारी दिने ट्राफिक प्रहरीको तयारी छ ।



ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका मुख्य चार ठाउँमा होर्डिङबोर्ड राख्ने तयारी छ । बालाजु, कलंकी, कोटेश्वर र गौशालामा राखिने होडिङ बोर्डमा कहाँबाट कहाँ जाँदा ट्याक्सीबाट कति हुन्छ भन्ने जानकारी ठूलो अक्षरमा लेखिएको हुनेछ । अहिले त्यससम्बन्धी तयारी भैरहेको महाशाखाले जनाएको छ ।

होर्डिङबोर्ड राख्नुअघि महाशाखाले ट्याक्सीभाडा सम्बन्धी जानकारी भएको ब्रोसर निकालेको छ । मिटरमा जान नमान्ने, बढी भाडा असुल्ने, मिटर बिगार्ने लगायत ठगीमा संलग्नलाई कार्वाही भैरहेको र यो अभियानलाई अझै प्रभावकारी बनाउने ट्राफिक प्रहरीको तयारी छ ।