विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन मस्यौदा सम्बन्धी छलफल

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धमा तयार हुन लागेको ऐनको मस्यौदा सम्बन्धमा उद्योगीहरु र सरोकारवालाहरुबीच रुपन्देही उद्योग संघमा छलफल सम्पन्न भएको छ । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा रुपन्देही उद्योग संघको सह-आयोजनामा आयोजित अन्तक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन सम्बन्धमा विभिन्न खाले सुझाव दिएका छन् ।



रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठकको अध्यक्षता तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पाठकले विदेशी लगानी तथा प्रविधि भित्र्याउनु आफैमा महत्वपूर्ण काम भएता पनि सर्वप्रथम स्वदेशी उद्योगहरुको संरक्षण गर्नुपर्ने बताए । प्रमुख अतिथि शर्माले अवको समय सकारात्मक सोंचका साथ विश्व बजारसँग प्रतिस्पर्धा गर्ने बेला भएकाले सबै उद्योगीहरुसँग आग्रह गरे ।

नेपालको आर्थिक बृद्धिदर झनभन्दा झन खस्कदै गइरहेकोमा सो प्रति गम्भिर बन्न नसकिएमा ठूलो संकट सिर्जना हुने उनले बताए । स्वदेशी शिप, प्रविधि र लगानीले सम्भव नभएका क्षेत्रमा विदेशी लगानी र प्रविधि भित्र्याउन अत्यावश्यक रहेको हुँदा सो सम्बन्धमा लगानी मैत्री ऐन बन्नुपर्नेमा उनको जोड थियो । काम गरेर खाने नेपाल बनाउनका लागि थप मेहनत गर्नुपर्दछ र त्यसका लागि सबै उद्योगहरु तयारी अवस्थामा रहन समेत उनले आग्रह गरे ।

पूर्व कानून सचिव तथा ऐन मस्यौदा समितिका संयोजक उदय नेपालीले नेपालको अर्थतन्त्र विकासका लागि विदेशी लगानी एवं प्रविधि भित्र्याउन अनिवार्य रहेको हुँदा यस ऐन निर्माण गर्न थालिएको र सो ऐनलाई परिस्थिति सुहाउँदो बनाउन सबै क्षेत्रका उद्योग व्यवसायीहरुको सुझाव आवश्यक पर्ने हुँदा यस क्षेत्रका उद्योगीहरुको सुझावले ऐनलाई थप उपलब्धी मूलक बनाउने धारणा राख्नु भएको थियो ।

उद्योग मन्त्रालयका उपसचिव विष्णु प्रसाद ढकालले मन्त्रालयद्वारा औद्योगिक प्रवद्र्धनका लागि भएका गतिविधिहरुबारे जानकारी गराउनुका साथै उद्योगीहरुबाट उठेका विभिन्न जिज्ञासाहरुमाथि प्रष्ट पारेका थिए । उनले औद्योगिक व्यवसाय ऐनको तयारी अन्तिम चरणमा पुगेकोले सो ऐनले राष्ट्रिय उद्योगहरुको उचित संरक्षण गर्नेछ र तत्पश्चात् अन्तर्राष्ट्रिय लगानी प्रविधि हस्तान्तरण ऐन लागू गर्न सकिएमा देशले आर्थिक फडको मार्ने धारणा राखेका थिए । कार्यक्रममा ईप्राद नेपालका सचिव डिल्लीराज उप्रेतीले ऐन मस्यौदा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उक्त ऐन माथी रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार बैकुण्ठ पाण्डे एवं प्राविधिक सल्लाहकार ई। टंक कंडलले टिप्पणी गरेका थिए ।

उपस्थित अधिकांश उद्योगीहरुले वर्तमान समयमा स्वदेशी उद्योगहरु नै अनगिन्ती समस्याको चपेटामा परिरहेको हुँदा सर्वप्रथम आन्तरिक समस्या समाधान गरेर मात्रै विदेशी लगानी तथा प्रविधि भित्र्याउनु पर्नेमा जोड दिएका थिए ।

ठूला ठूला परियोजना विदेशी लगानी तथा प्रविधि बढाउन सकिएमा देशले आर्थिक मुहार फेर्नेहु“दा ऐनको सफलताको कामना गर्दै रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बोनिन पिया, कार्यसमिति सदस्य तथा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका का।वा। अध्यक्ष रामप्रसाद बस्याल, कार्यसमिति सदस्य उपेन्द्र अग्रवाल, नेपाल डेरी एशोसिएसनका अध्यक्ष मेघराज भण्डारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष खिम बहादुर खत्री, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष खिम नारायण पराजुली, सिद्धार्थनगर उद्योग वाणिज्य संघका सचिव भिष्म न्यौपाने, उद्योगीहरु रचना भट्टराई, नेत्र भण्डारी, विदुर ढुंगाना, हिरामणी भट्टराई, अनिल जैसवाल लगायतले सुझाव तथा आफ्ना रायहरु राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एजाज आलमले स्वागत मन्तव्यका साथै यस क्षेत्रको औद्योगिक अवस्था सम्बन्धमा जानकारी गराउनु भएको थियो । संघका सचिव बाबुराम बोहराको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका महानिर्देशक मेघनाथ न्यौपाने, संघका पदाधिकारी, कार्यसमिति सदस्य सल्लाहकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उद्योगीहरुको उपस्थिति रहेको थियो ।