कार्कीलाई अख्तियार प्रमुख नबनाउन माग गर्दै प्रदर्शन जारी

२४ वैशाख, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका रुपमा सिफारिस भएका पूर्व मूख्य सचीव लोकमानसिंह कार्कीको नियुक्तिकेा सिफारिस अनुमोदन नगर्न माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनले विहानै देखि प्रदर्शन गरिरहेका छन् । विद्यार्थी संगठनले राजधानीका क्याम्पस अगाडी चक्काजाम गरेका छन् । जनआन्दोलनका विरोधीका रुपमा रहेका कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेर लोकतन्त्रको उपेक्षा गरेको भन्दै विभिन्न दलका भ्रातृ संगठनले आन्दोलन सुरु गरेका छन् । आज बिहान ८ देखि १० बजेसम्म दुईघण्टा उपत्यकाका सबै क्याम्पस अगाडी चक्काजाम र प्रदर्शन गर्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

आजै १३ विद्यार्थी संगठनले राष्ट्रपतिलाई भटेर ध्यानाकर्षणपत्र बुझाउने पनि बताएका छन् । पेशागत महासंघले पनि आज बबरमहलमा जम्मा भएर विरोध जनाउने बताएको छ । हिजोदेखि नागरिक समाज, दलका नेता, विद्यार्थी युवा संगठन आन्दोलनमा उत्रिएका छन् भने एमालेले सोमबार नै सिफारिस अनुमोदन नगर्न राष्ट्रपति कार्यालयमा दवावपत्र बुझाएको छ । संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्कीसहित लोकसेवा आयोगमा कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ ।