टाउन हल र हुलाक कार्यालयनजिकै बम विस्फोट, ४३ को मृत्यु (भिडियोसहित)

२९ बैशाख, एजेन्सी । टर्कीको सिरियासँग सीमा जोडिएको रिहान्ली शहरमा भएका दुईवटा कारबम विस्फोटमा ४३ जनाको मृत्यु भएको छ भने १४० जना भन्दा बढी घाइते भएका छन् । बम विस्फोट शहरको टाउन हल र हुलाक कार्यालयनजिकै भएको सञ्चारमाध्यहरूले जनाएका छन् । वरिष्ठ अधिकारीहरुले आक्रमणमा सिरियाली संलग्नताको आशका गरेका छन् । टर्कीका उपप्रधानमन्त्री बसिर अतालेले आक्रमणमा सिरियाली गुप्तचर निकायको संलग्न रहेको बताइएको छ । विगत केही समययता सिरियाली शरणार्थीहरु ठुलो समूहमा टर्कीका सीमावर्ती शहरमा शरण लिइरहेका छन् । एउटा बम विस्फोट भएको १५ मिनेटपछि अर्को विस्फोट भएको थियो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । यस घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन् । स्रोत : नेपालीहेडलाइन