छोरी अपहरणमा परेको खबर छोरीकै मोबाइलबाट आएपछी...

१ जेठ, काठमाडौ । कक्षा ११ को परिक्षा दिएर घर फर्किनुपर्ने छोरीको मोबाइलबाट छोरी नै अपहरणमा परेको खबर पाएपछी काठमाडौ गोंगबुका केशवप्रसाद सुवेदी छाँगोबाट खसेजस्तै भए । सदाझै छोरीलाई परिक्षा सकेपछी लिन पुगेका सुवेदीले छोरी विद्यालयमा नभेटेपछि साथीसँग घुम्न गएको होला भन्दै घर फर्किएका थिए । तर, दिउँसो छोरीको मोबाइलबाट छोरी अपहरणमा परेको र फिरौतीका लागी ५ लाख नगद र घरको लालपुर्जा माग्दै मेसेज आएपछी सुवेदी पुगे महानगरीय प्रहरी अपराध महाशाखा । त्यहाँ उनले आफूलाई आएको मेसेज देखाए र छोरीलाई अपहरण मुक्त गराइदिन आग्रह गरे ।



लगत्तै प्रहरीले पनि अनुसन्धान थाल्यो । प्रहरीले सबैभन्दा पहिले सुवेदीकी छोरी रूपाको मोबाइल ट्र्याक गर्यो । मोबाइल त इटहरीमा रहेको थाहा भयो । काठमाडौकी केटीलाई इटहरी पुर्याइएको थाहा पाएपछी प्रहरीले सबैभन्दा पहिले मोबाइलमा फोन हान्यो । उक्त फोन उनकै छोरीले उठाइन् र आफूलाई तीन केटा र एक केटीले इटहरी ल्याएर छोडिदिएको र आफू धरानमा रहेकी दिदीको घर जान लागेको बताइन् ।

प्रहरीले भने रूपालाई नजिकको प्रहरी कार्यालयमा गएर बस्न लगायो र रूपाकी दिदीलाई फोन गरेर बहिनी लिन जानका लागी आग्रह गर्यो । रूपाकी दिदी पनि प्रहरी कार्यालयमा पुगिन् र बहिनी लिएर फर्किइन् ।

यस घटनाका विषयमा थप अनुसन्धान गर्न बाँकी रहेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट उक्त घटनाको थप अनुसन्धान गरिँदैछ । अनुसन्धानका लागि प्रहरीले पहिले रूपाको बयान लिने जनाएको छ । विभागका एक अधिकारीले दिएको जानकारी अनुसार रूपा अपहरणमा नपरेको सम्भावना बढी भएको देखिएको छ र उनले अपराधीले अन्य कुनै योजनाका लागि समेत यस्तो गरेको हुन सक्ने आशंका गरेका छन् । उनले रूपासँग बयान लिएपछि मात्र प्रारम्भिक कुरा थाहा हुने र अनुसन्धान अघि बढाउन मद्धत मिल्ने बताइएको छ ।