कमल थापाको पार्टीबाट पारस शाहले चुनाव लड्ने !

८ जेठ, काठमाडौ । पूर्व युवराज पारस शाह आफ्नो ४३ औ जन्मदिन मनाउन नेपाल आउने भएका छन् । करिब तीन महिनाअघि अकस्मात् अचेत भएर ढलेपछी समितिभेज अस्पतालमा भर्ना हुन पुगेका पारस शाहको अवस्था अहिले सामान्य छ ।



अचेत अवस्थामा अस्पताल भर्ना भएका पारस शाह करिब ११ दिनपछि मात्र होसमा आएका थिए । अहिले सुधार गृहमा रहेर स्वास्थ्य लाभ गरिरहेका पारस शाह यही महिनाको अन्त्यसम्ममा नेपाल फर्किसक्ने बताइएको छ । आफ्नो जन्मदिन आफ्नै परिवारसँग मनाउने मनसायमा पारस शाह रहेको र नेपालमा नै बसेर समाजसेवा गर्ने उदेश्यले नेपाल आउन लागेको बताइएको छ ।

नेपालमा राजसंस्थाको अन्त्य पछी राजा बन्न पाउने अवसर गुमाउन पुगेका पारस शाहले अब नेपाल बसेर राजनीति गर्न सक्ने सम्भावना रहेको बुझिएको छ । सुधार गृहमा भेट्न जाने आफन्तलाई उनले नेपालमा नै फर्किने र त्यही बसेर समाजसेवा गर्ने बताएका थिए । उनका आफन्तका अनुसार उनी अब नेपालमा नै बसेर केही गर्ने सोचमा रहेका छन् ।

नेपालमा बसेर समाजसेवामा लाग्ने सोच बनाएको बताइएपनि उनको भित्री सोच भने देशको राजनीतिमा हात हाल्ने भएको बताइएको छ । उनी नेपाल आएर संविधानसभाको अब हुने निर्वाचनमा भाग लिने मनस्थितिमा रहेको स्रोतको दावी छ । उनले राजतन्त्र गुमाए पनि एक नेताको हैसियतले राजतन्त्रको अवषेश बाँकी राख्ने प्रयत्नमा आफू लाग्ने बाबु पूर्वराजा ज्ञानेन्द्रलाई समेत सुनाएका थिए ।

आफ्नो छोरा राजनीतिमा आउने इच्छा राखेको थाहा पाएपछी पूर्वराजा ज्ञानेन्द्र पनि निकै खुसी भएको र उनले यस विषयमा कमल थापासँग समेत सल्लाह गरिसकेको बताइएको छ । यस विषयमा कमल थापा पनि सकारात्मक देखिएको र उनले पूर्वराजा ज्ञानेन्द्रलाई पारसलाई निर्वाचनमा जिताउने जिम्मा आफुले लिने बताएको स्रोतको दावी छ ।

यदी साच्चै पारस शाहले राजनीतिमा आउने चाहना राखेका हुन् भने आफूले उनलाई उपयुक्त हुने क्षेत्रबाट आफ्नो पार्टीको टिकट दिएर दिलोज्यान दिएर जिताउन लागि पर्ने समेत कमल थापाले ज्ञानेन्द्रलाई आआश्वासन समेत दिएको बताइएको छ । यसरी आफ्ना विश्वासपात्रको आश्वासन पाएपछी ज्ञानेन्द्र समेत खुसी भएको र छोराको राजनीतिमा लाग्ने इच्छाले पूर्णता पाउने सम्भावना बलियो भएपछी छोरालाई सकेसम्म चाँडो नेपाल आएको हेर्न चाहेको स्रोतको दावी छ ।

पछिल्लो समय र विशेष गरि बिरामी भएपछि छोरा पारसप्रति मानिसहरूको सहानुभुति बढेको बुझाइमा पूर्व राजा ज्ञानेन्द्र रहेको उनका निकटवर्तीहरू बताउँछन् ।