अमेरिकी हतियारको ‘डिजाइन’ चिनियाँले हृयाक गरे

१४ जेठ, वासिङटन । अमेरिकी अधिकारीहरू तथा प्रतिरक्षा संस्थाहरूले अमेरिकी थप विस्तृत हतियार प्रणालीका धेरै ‘डिजाइन’ रहेको सञ्जाल (नेटवर्क) चिनियाँ हृयाकरहरूले तोडेको निष्कर्ष निकालेको समाचार वासिङटनपोस्टले मङ्गलबार प्रकाशन गरेको छ ।



पेन्टागनका लागि तयार गरिएको गोप्य प्रतिवेदनमा अमेरिकी प्रतिरक्षा ठेक्केदार तथा सरकारी संस्थाहरूविरुद्ध गुप्तचरी गर्ने चिनियाँ अभियानको यो एक भाग भएको उल्लेख गरिएको पोस्टले जानकारी दिएको छ । सरकारी तथा नागरिक वरिष्ठ विशेषज्ञहरूको सल्लाहकार समूह प्रतिरक्षा विज्ञान बोर्डले अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा, युद्धक विमान तथा जहाजमा रहने प्रमुख १२ हतियार प्रणालीका डिजाइन रहेको सञ्जाल तोडिएको जानकारी दिएको भनी उक्त पत्रिकाले उल्लेख गरेको छ ।

पेन्टागनलाई सुझाव दिइएको उक्त प्रतिवेदनमा चिनियाँ हृयाकरले उक्त डिजाइन चोरेको भनिएको त छैन तर यसले अमेरिकाले चिनियाँ सरकारलाई दिएको चेतावनीको उग्रतालाई प्रस्ट्याएको उक्त पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाले यसका लागि प्रतिरक्षा विज्ञान बोर्डको प्रतिवेदनको गोप्य राखिएको भागमा उक्त कुरा रहेको उल्लेख गरेको छ ।

पत्रिकाले यसरी नेटवर्क तोडिँदा चीनलाई थप प्राविधिक ज्ञान प्राप्त हुने र यसले द्वन्द्वको समयमा अमेरिकी क्षमतालाई कमजोर बनाउनसक्ने आशङ्का गरेको छ । उक्त प्रतिवेदनको सार्वजनिक संस्करण जनवरी महिनामा प्रकाशन भएको थियो र प्रतिवेदनमा अमेरिका पूर्णस्तरको साइबरयुद्धका लागि राम्रोसँग तयार नभएको देखिएको उल्लेख गरिएको थियो ।

पोस्टले उक्त प्रतिवेदनको गोप्य संस्करण प्राप्त गरेको र हृयाक भएका डिजाइनमा विस्तृत प्याटि्रयोट क्षेप्यास्त्र प्रणाली, ब्यालेस्टिक क्षेप्यास्त्र खसाउने सैनिक प्रणाली तथा नौसेनाको एजिज ब्यालेस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परेको उल्लेख गरेको छ । यसै गरी हृयाक भएका डिजाइनमा एफ/ए-१८ युद्धक जेट, भी-२२ ओस्प्रे, ब्ल्याक हृवाक हेलिकप्टर तथा नौसेनाको नयाँ लिटरल कम्ब्याट सिप सहित युद्धक विमान तथा जहाजका डिजाइन परेको पोस्टले उल्लेख गरेको छ । रासस/एएफपी