कुलेखानी दोस्रोमा आगलागी, लोडसेडिङ बढ्न नदिन डिजल प्लान्ट तयार

रामशरण पुडासैनी, मकवानपुर, वैशाख ४ - मकवानपुरको भैंसे गाविस-१ मा रहेको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको विद्युतगृहको तीनवटा ट्रान्सफर्मरमा गएराति आगलागी हुँदा करोडौंको क्षति भएको छ। ३ वटै ट्रान्सफर्मरमा पालैपालो आगो सल्केपछि कामै नलाग्ने गरी उपकरणमा क्षति पुगेको छ।

आगलागीपछि ३२ मेगावाटको विद्युत् उत्पादन हुने दोस्रो आयोजना बन्द भएको छ।

पिकआवरलाई लक्षित गदै आवश्यकताअनुसार उत्पादन हुने कुलेखानीको दोस्रो परियोजनामा भार कम हुँदै गरेको समयमा एक्कासी ट्रान्सफर्मरमा आगो दन्दनी बल्न थालेको हो। राति ११:४३ को समयमा बीच भागमा रहेको वाइफेजको ट्रान्सफर्मरमा हाइभोल्टेजका कारण ‘ब्रसिङ ब्रस्ट' भई आगो लागेको आयोजनाका प्रमुख कृष्णप्रसाद यादवले जानकारी दिए। आगलागी हुदा झण्डै ५ करोड बराबरको क्षति भएको अनुमान आयोजना प्रमुख यादवले गरे।

आगलागीपछि १० मिनेटमा हेटौंडाबाट पुगेको दमकलले आगो निभाएको थियो। दमकलसहित आयोजनाका कर्मचारी, स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीले पनि आगो निभाएका हुन्। करिब ३ सय जना मिलेर एक घण्टापछि आगो नियन्त्रणमा लिएको बताइएको छ।

आगो निभेपछि चितवन र बीरगञ्जबाट मगाइएको दमकल बाटोबाटै फर्काइएको थियो। करिब ५० करोडको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान भए पनि आगो नियन्त्रणमा लिन सफल भएकाले २ वटा ट्रान्सफर्मर मात्र नष्ट भएको प्रमुख यादवले बताए। आगलागीपछि उपकरणको क्षति हेरेर मर्मतसम्भार वा पुनर्जडान गर्नुपर्ने हुनसक्ने यादवले बताए। उनले मर्मतसम्भारका लागि ६ महिना लाग्ने बताए।

ट्रान्सफर्मर जलेर नष्ट भएपछि गएरातिबाटै विद्युत् उत्पादन ठप्प भएको छ। ३२ मेगावाट उत्पादन गर्ने आयोजनाको उत्पादन बन्द भएपछि लोडसेडिङ बढ्ने अनुमान गरिएको छ।

डिजल प्लान्ट तयार

कुलेखानी दोस्रो परियोजना बन्द भएपछि लोडसेडिङ बढ्न नदिने गरी विद्युत् उत्पादन गर्न हेटौंडाको डिजेल प्लान्ट तयारी अवस्थामा रहेको जनाएको छ। गत मंसिरदेखि १० मेगावाट विद्युत उत्पादन गरिरहेको प्लान्टले निर्दैशनअनुसार दैनिक उत्पादन गरिरहेको प्रमुख राजेशकुमार पाण्डेले बताए। उनले भार प्रेषण केन्द्रको निर्देशनअनुसार थप सञ्चालनका लागि पनि तयार रहेको जानकारी दिए।