प्रचण्डको चश्माको पावर कम भइसकेछ : नेपाल

रौतहट- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीबाट जनताको भ्रम टुटेको बताएका छन्। गृह जिल्ला रौतहटको गरुडामा आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले देशमा शान्ति र संविधान आउला भनेर जनताले एमाओवादीलाई ठूलो पार्टी बनाएकोतर दुवै कुरा हुन नसकेकोले जनताको भ्रम टुटेको बताएका हुन्।



गत संविधानसभा निर्वाचनलाई एक किसिमको तुफानको संज्ञा दिँदै नेपालले त्यसै तुफानबाट मधेसवादी र एमाओवादी ठूलो पार्टी बनेको बताए। एकपटक ठूलो पार्टी बन्दैमा सधैँभरी कोही ठूलो हुन नसक्ने टिप्पणीसमेत गरेका छन्। एमाओवादी ठूलो पार्टी भएको कारण संविधान बन्न नसकेको बताउँदै नेता नेपालले संघीयताको विवादलाई जनमत संग्रहको माध्यमबाट मिलाउन सकिने बताएका छन्।

संविधानसभाको आगामी निर्वाचनको विरोध गरिरहेका दलप्रति लक्षित गर्दै लोकतन्त्रवादी भन्नेले चुनावको विरोध गर्न नहुने बताएका छन्। नेपालले स्पष्ट शब्दमा भने,'चुनावको विकल्प केही हुन सक्दैन।'

एमालेप्रति प्रचण्डले गरेको टिप्पणी प्रति लक्षित गर्दै नेता नेपालले मेचीदेखि महाकालीसम्म र हिमालदेखि पहाडसम्म प्रत्येक गाउँटोलमा संगठन रहेको तथा विगतमा देशको सबैभन्दा ठूलो पार्टी भई देशको प्रधानमन्त्री पनि पटकपटक भइसकेको पार्टीलाई नदेख्ने प्रचण्डको चश्माको पावर कम भइसकेको प्रतिक्रिया दिएका छन्।

विगतमा पञ्चायती व्यवस्था र राजा ज्ञानेन्द्रले पनि एमालेलाई सिध्याउन खोजेको भएपनि कसैले नसकेको उनङ्को दाबी थियो । एमाले जनताको पार्टी भएकोले कसैले सिध्याउन नसक्ने उनले बताएका छन्। माओवादीले विगतमा २ सय ५० एमाले कार्यकर्तालाई घाँटी रेटेर हत्या गरेको बताउँदै नेपालले जंगलमा रहेको एमाओवादीलाई सुधार्न सहरमा ल्याएपनि सुध्रिन नसकेको आरोपसमेत लगाएका छन्।

संघीयताको विचार एमाले मौलिक भएको र विगतमा आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने अभियान यसैको स्वरुप भएको बताएका छन्। आगामी निर्वाचनमा एमालेलाई भोट खसाल्न समेत नेता नेपालले जनता समक्षआग्रह गरेका छन्।

दिनभर व्यस्त रहेका नेता नेपालले रौतहटका चार वटा निर्वाचन क्षेत्रमा आयोजित आठवटा कार्यक्रमलाई सम्बोधन गरे। स्थानीय बज्जिका भाषामा भाषण गर्दै नेता नेपालले काँधमा गम्छासमेत भिरेर मधेसी संस्कृतिको नजिक देखाउने प्रयास गरेका छन्।

nagariknews