सुष्मा कार्कीले नायक राजेश हमाललाई किस गर्दा हमालको ओठ नै सुन्नियो

चलचित्र मेरो जीवन साथीको सुटिङको क्रममा नायिका सुष्मा कार्कीले नायक राजेश हमाललाई यसरी चुम्बन गरिदिइन् कि हमालको ओठ नै सुन्नियो । सुटिङ सकिएपछि नायक हमालले यस्तो सिन अब आइन्दा नगर्ने उद्घोष नै गरे ।



चलचित्र विन्दासको बारेमा त्यसका निर्देशक राजु गिरीले गर्वका साथ भने– ‘आ यो रिलिजपूर्व फिल्ममा चारओटा किस सिन छन् । कलेज ड्रेसमा केटाकेटी वनमा गएर किस खाएको सिन छ । अर्को रेस्टुरेन्टमा बियर खाएपछि किस खाएको सिन छ । अनि अर्को बेडमा सेक्सअघि किस खाएको सिन राखिएको छ, अनि चौथो सिनमा चाहिँ कस्तो किस छ भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।’ गिरीले आफ्नो चलचित्रमा चुम्बन दृश्य रहेकोमा जति गर्व गरे, त्यति नै हैरानी यसलाई सेन्सर बोर्डले दियो ।

चारचारपटकसम्म चलचित्र हेर्दै छाँटकाँट गरेपछि सेन्सरले बल्लबल्ल यसलाई एडल्ट सर्टिफिकेटका साथ प्रदर्शनको अनुमति दियो । त्यस्तै चलचित्र किन किनको सम्पादन कक्षमा पुगेका चलचित्र वितरक सुनिल मानन्धरलाई त्यसका निर्देशक उकेश दाहालले चलचित्रको गीत देखाइसकेपछि सोधे– ‘दाइ किस सिन पनि हेर्ने ?’ अहिलेका अश्लील चलचित्रदेखि वाक्क भएका निर्माता तथा वितरक मानन्धरले चुम्बन दृश्य हेर्न मानेनन् र भने– ‘मिल्छ भने किस सिन नै हटाइदेऊ ।’ चलचित्रका सीडी वितरक तथा चलचित्र निर्माता विजय गोपाल दलीले आफूले बनाएको चलचित्र रिङरोडका बारेमा प्रस्ट पारे– ‘हाम्रो फिल्ममा त्यस्तो खासै केही छैन, तर नवकलाकार उषा खरेलले बच्चालाई स्तनपान गराएको सिन भने राखेका छौं ।

’ यी मात्र हैन फुल स्टप, नाइन ओ क्लकलगायतका केही अन्य चलचित्रले पनि यस्तै विषयलाई समेटेको त्यसका प्राविधिकहरूले जानकारी गराएका छन् । उनीहरूका अनुसार यी चलचित्रमा यौनलाई बढी प्राथमिकता दिइएको छ । हुन त चपली हाइटलगायतका कतिपय फोहोरी चलचित्र आई पनि सके, तर कुनै चलचित्रले पनि दर्शकको ताली पाएनन् । अलिकति बढी व्यापार गर्नु मात्रै ठूलो कुरा हैन ।

एउटा खास वर्गका दर्शकले चलचित्रमा यौन र हिंसा रोजे पनि पछिल्लो दिनमा चलचित्र क्षेत्रमा लाग्ने कमजोर समूहले नाङ्गिएर आफ्नो वास्तविक स्वरूप देखाएका छन् । जसका कारण अहिले चलचित्र उद्योग नै गलत दिसातर्फ मोडिएको महसुस गरिएको छ । तथापि धेरैले प्रतिक्रिया दिएका छन्– ‘चलचित्र उद्योगमा अन्योलता नै छाएको होइन, खहरेको बाढीमा फोहोर पनि बगेर आएको मात्रै हो ।’ निर्देशक यादव खरेल भन्छन्– ‘अहिले बाढीले धेरै फोहोर बगाएर ल्याएको छ । झट्ट यो बाढी हेर्दा सधैं फोहोर पानी आइरहने हो कि जस्तो लागेको मात्रै हो, पछि यो सङ्लिएर जान्छ ।’ खरेलको विचारमा यस्तो बेलाबेलामा भइरहन्छ । जसले यस क्षेत्रका विकृति झन् उजागर गर्दै लान्छ र वर्षौंदेखिको भ्रम अब हटेर जान्छ ।

अब यौनले पनि चलचित्र चल्छ भन्ने भ्रम हटेर जाने उनको अनुमान छ । यौन र हिंसाले भरिपूर्ण चलचित्रमा काम गर्ने यी महिला पुरुष वास्तविक कलाकार नभएको खरेलको दाबी छ । उनका अनुसार यी केवल सेक्स मोडल मात्रै हुन् । यिनीहरूले कलात्मक सेक्सलाई प्रस्तुत गर्न सक्दैनन् । पछिल्लो दिनमा खरेल नेपाली चलचित्रप्रति झन् आशावादी देखिएका छन् । अहिलेको प्रविधि र वास्तविक ज्ञान लिएर आएका केही नवप्रवेशीले चलचित्र उद्योगमा नयाँ बाटो कोर्ने यादवको तर्क छ । तथापि सेक्स मोडल चलचित्रमा ओइरिएर चलचित्रकर्मीलाई केही असजिलो बनाएकोमा भने उनलाई पनि नमीठो लागेको छ । भटाभट अश्लील चलचित्र आउन थालेपछि यस्ता चलचित्र रोक्न निर्देशक समाजले पहल गरेको र सबै चलचित्रसम्बन्धी संस्थाले यसमा सहयोग गरेको निर्देशक समाजका अध्यक्ष विमल पौडेल बताउँछन् । उनी भन्छन्– ‘यस्ता चलचित्र र कमजोर कलाकारको ओइरोले चलचित्र उद्योग उँधो गतिमा जान्छ ।

यौनलाई भद्दा र विकृति फैलाउने तरिकाले प्रस्तुत गर्न पाइंँदैन । नेपाली चलचित्र उद्योगको चलचित्र भनेको परिवारको एउटा सदस्य जस्तै हो । परिवारको एउटा सदस्य बिग्रियो भने त्यो परिवारको हालत के हुन्छ ?’ चलचित्रमा व्यावसायिकताको नाममा पछिल्लो दिनमा छाडापन र अराजकता भित्रिएर कानुनी राज्यलाई नै दूषित बनाएको निर्माता संघका अध्यक्ष राजकुमार राईको आरोप छ । उद्योगमा अश्लील चलचित्र आउँदा, एउटी नेपाली चेली अश्लील चलचित्रमा जसरी नाङ्गिँदा निर्माता संघ मात्र नभई सामान्य नागरिकको पनि चासोको विषय हुने राजकुमार बताउँछन् ।

उनी भन्छन्– ‘निर्माता संघले हरेक निर्माताको लगानीको सुरक्षा गर्न सहयोग पुर्‍याउँछ । तर कुनै निर्माताले गलत काम गर्‍यो भने त्यसको विरोध पनि पहिला निर्माता संघले नै गर्छ । हामीले त्यही सिलसिलामा लुट र चपली हाइटलाई सहयोग गर्‍यौं सेन्सरको अवरोधलाई हटायौं । तर अहिले एक निर्माताले पूरै अश्लील लाग्ने चलचित्र बनाए उनको चलचित्रको सबै कुरा हामीले रोक्यौं ।’ चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी पनि अहिलेको विकृतिप्रति निकै सजग छन् । उनलाई नेपाली नारीको यौनप्रतिको उदारता देखेर आश्चर्य लागेको छ ।

उनी भन्छन्– ‘सामाजिक जीवन अनि समय र समाजले पचाउने विषय श्लील हुन्छ, समाज र समयले ग्रहण गर्न नसक्ने विषय अपाच्य र अश्लील हुन्छ । अहिले केहीले अश्लीलता र यौनलाई चलचित्रको मूल विषयको रूपमा अगाडि बढाएका छन् । चलचित्र बनेपछि रोक्दा वा फेरि छायांकन गर्दा निकै नोक्सान हुने भएकाले हामीले स्क्रिप्ट हेरेर काउन्सिलिङको प्रक्रिया अगाडि बढाएका थियौं ।’ निर्माण नियन्त्रक प्रकाश महराका अनुसार अहिले अश्लील चलचित्र र नाङ्गिन तयार युवतीको ओइरो नै लागेको छ । कतिपयले चलचित्र सम्पादन गर्दा आफैंले अश्लील दृश्य काटेको र केही चलचित्रको रि–सुटसम्म भएको महराले जानकारी गराए । उनी पनि यी सेक्स मोडललाई कलाकार मान्न तयार छैनन् ।