खानेपानीको विषयमा भएको विवादमा छुरी प्रहारबाट एकजनाको ज्यान गयो

खोटाङ, ८ वैशाख । खानेपानीको विषयमा भएको विवादका क्रममा छिमेकीको छुरी प्रहारबाट खोटाङमा एकजनाको ज्यान गएको छ । खानेपानीको विषयमा विवाद हुँदा स्थानीय २२ वर्षीय सञ्जय राई, १८ वर्षीय सरोज राई, १९ वर्षीय विजय राई र सुनसरी बक्लौरी–५ का ३५ वर्षीय राजकुमार राईको छुरी प्रहारबाट टेम्मा–३ बरबोटेका ४१ वर्षीय रमेश राईको ज्यान गएको हो ।



गाउँमा सार्वजनिक रुपमा प्रयोग हुँदै आएको खानेपानीको विषयमा विवाद भएपछि उनीहरुले रमेशलाई शुक्रबार राति ९ बजे छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । छुरी प्रहारबाट घटनास्थलमै ज्यान गुमाएका राईको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ ।

छुरी प्रहारमा संलग्न चारजनालाई नै पक्राउ गरी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरीनायब उपरीक्षक राजीव बस्नेतले बताउनुभयो । यसैबीच, आपराधिक गतिविधि एवम् चन्दाआतङ्क नियन्त्रण गर्नका लागि खोटाङको बतासे–५ स्थित भँडारेघाटमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ ।

जिल्लाको महुरे–फोक्सिङ्टार सडक निर्माणमा संलग्न मजदुरबाट रकम असुल गर्नेक्रम नियन्त्रण गर्दै स्थानीय सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीनायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

आपराधिक क्रियाकलापका कारण भँडारेघाट क्षेत्रमा असुरक्षा बढेको भन्दै स्थानीयवासीले प्रहरीचौकी स्थापनाको माग गरेपछि ६ जनाको प्रहरी टोली रहने गरी अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।