चितवनमा ५५ हजार कुखुरामा फेरि बर्डफ्लु भेटियो

चितवन, वैशाख ८ -भरतपुर-९ गोन्द्राङ र मंगलपुर गाविसमा कुखुरा फर्ममा बर्डफ्लु फेला परेको छ। गोन्द्राङस्थित लक्ष्मी रानाको कुखुरा फर्मका ५२ हजार र मंगलपुरका राजेन्द्र हमालले पालेका ३ हजार २ सय २५ लेयर्समा बर्डफ्लु भेटिएको छ।

भरतपुर-८ गौरीगन्जको मिलन पोल्ट्री फर्ममा बर्डफ्लु लागेका २२ सय कुखुरा २७ दिनअघि मारिएका थिए। यसअघि झै लेयर्स कुखुरा फर्ममा बर्डफलु भेटिएको पशु स्वास्थ्य कार्यालय चितवनका क्षेत्रीय निर्देशक डा. दामोदर सेढार्इंले पुष्टि गरे।



राना र हमाल दुवैको फर्मका कुखरा नष्ट गर्न प्राविधिकहरु खटिएका छन्। कुखुरासँगै दाना र अन्डा पनि नष्ट गरिएको सेढाईंले जानकारी दिए। ५० हजारभन्दा बढी कुखुरा रहेको रानाको ५ तले फर्म भएकाले कुखुरा नष्ट गर्न कठिन भइरहेको प्राविधिकहरुलेब ताएका छन्।

केही दिनदेखि धमाधम कुखुरा मर्न थालेपछि जाँचका लागि नमुना पठाएकामा बर्डफ्लु रहेको शुक्रबार पुष्टि भएको थियो। चितवनमा यसअघि पनि बर्डफ्लु भेटिएकाले यो फैलँदो क्रममा रहेको हुनसक्ने शंका चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले गरेका छन्। उनले यसबारे सचेत रहन कुखुरा व्यवसायीलाई आग्रह गरे।
(नागरिक)