बाईक रेसिङ्ग केटाहरुलाई यसरी च्यालेन्ज गर्ने नायिका

कसैको धन कमाउने चाहना होला, कसैको नाम कमाउने चाहना होला, कसैको राम्रो गाडी चढ्ने सपना होला, त कसैको साथीहरुसँग घुमफिर गर्ने रमाईलो गर्ने सौख र रुचि होला । तर, चलचित्र ब्लाक नाईटकी नायिका निशा रिसालको चाहना र सपना अलि बेग्लै छ । उनी सपनामा पनि बाईक रेसिङ्ग गरेको, निखिल उप्रेतीको जस्तै स्टन्ड र एक्सन गरेको देख्छिन् । आँटिली स्वभावकी निशा गाडी चढ्न भन्दा बाईकमा एक्लै नयाँ नयाँ ठाँउमा घुम्न रुचाउँछिन् । कर्फबलको पहिलो नेपाली महिला प्रशिक्षक समेत रहेकी निशालाई स्कुटर चढ्न भने मन लाग्दैन ।



कसैले सित्तैमा दिए पनि स्कुटर नचढ्ने बताउँछिन् । अरु भन्दा छुट्टै भएर हिड्न रुचि लाग्छ उनलाई । बाईक चलाउन थालेको ५ बर्ष भएको भनेर सुनाउने निशालले एक्सएलबाट बाईक यात्रा शुरु गरेकी हुन् । पल्सर र आर वान फाईभ बाईक पनि चलाईन उनले तर उनको आर वान फाईभ बाईक फिल्म ब्ल्याक नाईटको सुटिङ्गको बेला हरायो । त्यसपछि अहिले उनी डट बाईक चढेर हिड्छिन् । ‘आफूलाई बोल्ड देखाउन मन लाग्छ त्यही भएर पनि बोल्ड बाईकमा हिड्ने बानी छ ।’ निशा भन्छिन् । बाईकको स्टन्ड गर्न पनि पछि नपर्ने उनी बाईकमा एक्लै कहिले पोखरा, कहिले मुग्लिन त कहिले त्रिशुली पुग्छिन् । बाईकमा एक्लै लङ्ग राइडिङभमा निक्लदा उनलाई डर लाग्दैन । प्राय केटाहरु आफूसँग डराउने उनको अनुभव छ । उनका केटी साथी छैनन् । केटा साथी पनि नभएको उनी बताउँछिन् ।

प्रेम सम्बन्धको कुरा गर्दा सम्बन्धमा बस्न पनि उनलाई रुचि लाग्दैन । एक्लो जिवन नै आनन्दको हुने उनको अनुभव छ । उनलाई लाग्छ, यो पुरुष प्रधान देशमा हरेक क्षेत्रमा महिलाहरु डोमिनेटेड छन् । तर आफू कुनै पुरुष भन्दा कम नभएको उनको ठम्याई छ । मौका पाउदा आफू जे पनि गर्न सक्ने बताउने निशा भन्छिन् ‘स्कुटी चलाउने महिलालाई पनि बाईक चलाउने केटाले सडकमा डोमिनेट गरेको देखेकी छु, ती केटाहरुसँग म च्यालेन्ज गर्छु बाईक रेसिङ्गमा ।’ उनले धेरै पुरुष चालकहरुलाई बाईक रेसिङमा पछि पारेकी छिन् ।

पुरुष चालकहरुको रफ ड्राईभिङ्ग उनलाई मन पर्दैन । उनी गर्वको साथमा भन्छिन् ‘मैले अहिले सम्म कहिल्यै ट्राफिक नियम उल्लंघन गरेको छैन् ।’ सेफ ड्राईभिङ्गको बारेमा अधिकांश चालकहरुलाई ज्ञान नभएको उनको ठम्याईं छ । उनले बाईकको स्टन्डसहित अभिनय गरेको चलचित्र ब्लाक नाईट वैशाख २६ गते अल नेपाल रिलिज हुँदैछ । चलचित्र ब्लाक नाईटको मुख्य भुमिकामा अभिनय गरेता पनि उनको अबका दिनमा चलचित्रमा काम गर्ने चाहना छैन । उनी भन्छिन ‘मलाई सुहाउने चलचित्रहरु नै नेपालमा बन्दैनन्, लाग्छ अबको दश बर्ष पछि बन्छन कि ?’ आफ्नो स्टन्ड र एक्सनको क्षमता देखाउन पाउने चलचित्रहरु भयो भने खेल्ने, नत्र फिल्म खेल्नकै लागि खेल्ने रुचि छैन उनको । ‘निखिल उप्रेतीले गरेका स्टन्डहरु म गर्न सक्छु’ उनी भन्छिन ‘मेरो त्यो क्षमतालाई पर्दामा उतार्नसक्ने निर्देशक नै देखेको छैन ।’ फेसन डिजाईनिङ्गको कोर्ष पनि गरेकी उनले आफ्नो डिजाईनमा र्‍याम्पमा मोडलहरुलाई क्याटवाक समेत गराएकी छिन । राम्रो पेन्टर समेत रहेकी निशा काठमाडौंकै स्थायी बासिन्दा हुन्