नेपाल बन्दः बिहानै प्रहरीद्धारा धरपकड, डेढ दर्जन पक्राउ

चैत्र २५ - २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गर्दै आन्दोलनतर ३३ दलले गरेको बन्दले देशभर नै जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामो र छोटो दुरीका यातायातका साधान बिहानैदेखि ठप्प भएका छन् भने शैक्षिक संस्था, उद्योग कलकारखाना पनि बन्द भएका छन् ।



बन्द सफल बनाउन बन्दकर्ताहरु बिहानैदेखि हातमा झन्डा बोकेर चोक चोकमा उभिएका छन् । बन्दमा अत्यावश्यक सेवा कुटनीतिक नियोग, एम्बुलेन्स, प्रेस आदिलाई अवरोध नगर्ने बताइएको छ ।

हिजो साँझ सरकारले बन्दकर्ताहरुलाई बन्द फिर्ता लिएर वार्तामा बस्न आह्वान गरेपनि सरकारसँग वार्ता बस्नुको कुनै औचित्य नभएको भन्दै राष्टपतिसँग मात्रै वार्ता बस्ने भनेर बन्द यथावत भएको हो ।

बन्दकर्तामाथि बिहानै लाठी चार्ज

यसैबीच, प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार गठन प्रक्रिया प्रति असहमति जनाउँदै गरिएको बन्द सफल बनाउन बिहानै चोक चोकमा पुगेका बन्दकर्तामाथि प्रहरीले धरपकड र ठाउँ ठाउँबाट पक्राउ गरेको छ ।

प्रहरीले कोटेश्वरबाट करीब १५ जनाका साथै बालाजुसहित अन्य विभिन्न ठाउँबाट धरपकड गर्दै केही बन्दकर्तालाई पक्राउ गरेको छ ।