सुनको भाउ ह्वात्तै घट्यो, एकैदिन ३३ सय रुपैयाँ घट्यो

विष्णु पोखरेल, काठमाडौं, वैशाख २ - अन्तर्राष्ट्रिय बजारमा गत सातादेखि सुनको भाउ ओरालो लागेपछि आज एकैदिन नेपाली बजारमा सुनको मूल्य ३३ सय रुपैयाँ सस्तो भएको छ। गत शुक्रबार ५५ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलाको ५२ हजार ५ सयमा कारोबार भइरहेको छ ।



आज बजारमा तेजाबी सुन तोलाको ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । २०६९ साल भदौ महिनाको अन्तिमतिर ६१ हजार ८ सय रुपैयाँमा पुगेर कारोबार भएको सुनको मूल्य घट्दै आएर सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रति औंस १ सय ६० डलर भन्दाले कमी आएपछि सुन सस्तिएको हो । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १ हजार ५ सय ६० डलर प्रति औंसको हारारहारीमा रहेको सुनको मूल्य आज बिहान १ हजार ४ सय ५० को हाराहारीमा झरेको छ ।

नेपालमा बिहेको मौसम लागेपछि बिहे गर्न लागेकालाई केही राहत मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि डलरको भाउ भने मजबुत भएको छ ।