इस्कुस किन जिब्रो फुत्त बाहिर निकालेर पाक्छ ?
कृष्ण अविरल
‘जोक्स’ भनेर साथीहरूलाई हँसाउने कुरामा सुवास लोकपि्रय थियो । ‘ननभेज जोक्स’ भन्न थालेपछि त झन् तल्लो कक्षाका मात्रै होइनन्, माथिल्लो कक्षाका दाइहरूसमेत उसको वरिपरि झुमिन्थे । रानोको वरिपरि माहुरी झुम्मिएझैँ ।
एकपटक टिफिनको समयमा उसले साथीहरूलाई सोध्यो, “स्कुस किन अफ्ठ्यारो ठाउँमा काँडैकाँडा भएर अनि जिब्रो फुत्त बाहिर निकालेर पाक्छ थाहा छ ?”
“अहँ ।” डेक्समाथि, बेन्चमाथि, अगाडि-पछाडि गर्दै झुरुप्प भएर बसेका साथीहरू कसैले पनि बताउन सकेनन् ।
“लौ सुन”, ऊ अब साथीहरूलाई पहिले-पहिलेझैँ जोक्स सुनाउन थाल्यो । साथीहरू लोककथा भन्ने हजुरबाको वरिपरि झुम्मिएका केटाकेटीजस्तो गरी चनाखा भए ।
“यो कुरा ब्रहृमाजीले मान्छे, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको सृष्टि गर्नु भएपछिको समयको हो । पानी पर्न र घाम लाग्न थालेपछि पृथ्वीमा मौसमअनुसारका फलफूल तरकारीहरू लहलहाएर फल्न थालेछन् ।
तर उनीहरूबीच कसरी पाक्ने भन्ने कुरामा अन्योल उत्पन्न भएछ । आखिर कसरी पाक्ने त ? एउटै स्वाद र रङमा पाक्दा मानिसहरूलाई सबै उस्तै लाग्ने भए । बेग्लाबेग्लै पहिचान पनि हुने भएन ।
चिन्तित भएका उनीहरूले अनेक उपाय खोजे । तर कसैगर्दा पनि सर्वस्वीकार्य समाधान निस्केनछ । एउटाले रातो भएर पाक्छु भन्यो भने अर्कोले पनि ‘रातो त मेरो फेब्रेट कलर हो’ भनेर दाबी गरिहाल्ने ।
दिक्क भएका उनीहरू उपाय सोध्न भनेर सुरुमा आफूहरूलाई जीवन दिने सृष्टिकर्ता ब्रहृमाजीकहाँ गएछन् । ब्रहृमाजी भने कमलको फूलमाथि पूरै ध्यान मुद्रामा ।
त्यसपछि सङ्कटमा परेका फलफूल तरकारीहरू शिवजीलाई खोज्दै कैलाश पर्वतमा गएछन् । त्यहाँ पनि उहाँलाई फेला पार्न सकेनछन् । सायद त्यतिबेला उनी हाम्रो पाशुपत क्षेत्रतिर आएका हुँदा हुन् ।
निराश भएर र्फकनै लागेको बेला उनीहरूको भेट एउटी अप्सरासँग भएछ । देउतालाई भेट्न सुटुक्क गएर फर्किँदै गरेकी अप्सराको अनुहार पनि धप्प बलेको रहेछ । पृथ्वीमा भएजति सम्पूर्ण फलफूल तरकारीहरू लावालस्कर भएर हिमालयमा आएको देख्दा देवीजस्ती अप्सरा स्वयम्लाई पनि आश्चर्य लागेछ । छक्कै परिछन् ।
“तिमीहरू किन आयौ ?” चिन्तित अनुहारमा देखिएका फलफूल तरकारीसँग अप्सराले सोधिछन् ।
“हजुर हामी ठूलो समस्यामा परेर आएका ।” साष्टाङ्ग दण्डवत गर्दै हिमाली भेगमा फल्ने स्याउले अघि सरेर भनेछ, “सृष्टिकर्ता ब्रहृमाजीले जन्म दिनुभएपछि हामी पृथ्वीमा हुर्कियौँ, बढ्यौँ । लहलहलाएर फल्न पनि थाल्यौँ । तर, कसरी पाक्ने, कस्तो रङमा पाक्ने भन्ने कुरामा हामीबीच समस्या उत्पन्न भयो ।”
“त्यसो भए तिमीहरू त्यै समस्याले गर्दा यहाँ आएका हौ त ?” अप्सराले सोधिछन् ।
“हो हजुर ! हामीलाई साह्रै ठूलो समस्या भयो ।” केराले आफ्नो पातझैँ निहुरिँदै हात जोडेर भनेछ, “एउटै रङ र स्वादमा पाक्दा मानिसहरूका बीचमा हाम्रो बेग्लाबेग्लै पहिचान नै नहुने भो । पाक्नका लागि उपाय नै फेला पारेनौँ ।”
अप्सरा मुसुक्क हाँसिछन् । दोबाटोको छेउमै रहेको ढुंगामाथि बसेर भनिछन्, “लौ तिमीहरू पालैपालो मेरो अगाडि आओ, मान्छेहरू नझुक्किने गरी म तिमीहरूको समस्या समाधान गरिदिन्छु ।”
सुरुमा स्याउ अघि सरेछ, जो अघिदेखि सबको नेता थियो । अप्सराले भनिछन्, “तँ बाहिर रातोरातो भएर पाक्नू । तर भित्र चँै सेतै हुनू । गिलो नहुनू तर रसिलो हुनू ।”
त्यसपछि अनारको पालो आएछ । राम्ररी नियालेर हेरेपछि मुसुक्क मुस्काउँदै उसलाई भनिछन्, “तँ साँच्चैको गुनिलो रै’छस् । सुगरबाहेक जुनसुकै रोग लागेका बेला मान्छेले खान मिल्ने तेरो विशेषता रै’छ ।” अघिदेखि बसेको गोडाको आसन बदल्दै बोलिछन्, “मानव जीवनका लागि महफ्वपूर्ण भएकाले तँ रगतजस्तै रातो हुनू, बाहिर पनि भित्र पनि ।”
त्यसपछि केरा अघि सरेछ । उसलाई भनिछन्, “तँ बाहिर पहेँलो भएर पाक्नू । तर भित्र चँै गिलोगिलै हुनू । स्वाद गुलियो हुनू ।”
“भित्रको रङ चै हजुर ?” केराले थप प्रस्ट हुन खोजेछ ।
“सेतो हुनू ।” र्झकँदै उनी बोलिछन् ।
“म कस्तो हुनु हजुर ?” भीड छिचोल्दै अगाडि आएको छोकडाले सोधेछ ।
“नियम नमान्ने बदमास रैछस् । तँ कालो हुनू । तर स्वादमा चै गुलियै हुनू, नत्र मान्छेले पनि मन नपराउन सक्छन् ।” उनले भनिछन् ।
अब पालो सुन्तलाको आएछ । अप्सराले निकैबेर सोचेर भनिछन्, “तँ पहेँलो पनि होइन, रातो पनि होइन दुवै मिसिएको रङको हुनू । अनि भित्रचाहिँ रसिलो हुनू । देख्दैखेरि जोकोहीको मुखमा पानी आओस् ।”
त्यसपछि अप्सराका अगाडि गोलभेडा आएछ । बोल्दाबोल्दै थकित भएर उनको ओठमुख सुक्न थालिसकेको थियो । तिर्खा लागेर पानीको याद आइरहेको थियो सायद । उनले भनिछन्, “तँ पनि रातै हुनू । तर स्याउको जस्तो रातो होइन, चखिलो खालको रातो हुनू । भित्र चैँ पानीपानी हुनू ।”
क्रमागत रूपमा खोर्सानी अघि सरेछ । उसलाई भनिछन्, “तेरो गुण केटाकेटी र रोगीले खानै नसक्ने पिरो रहेछ । त्यसैले तँ रातो भएर पाक्नू ।”
अब फलफूल तरकारीहरू लाइन लागेर पालैपालो अप्सराका अगाडि आउन थालेछन् ।
सुपारीलाई भनिछन्, “तँ रातो-रातो भएर पाक्नू । भित्रचाहिँ खैरोखैरो रङको भइकन पनि केटाकेटीले खानै नसक्ने टर्रो हुनू ।”
बैगुनलाई सुझाइछन्, “तेरो नामै बैगुन, त्यसैले तँ कालोकालो रातोरातो दुवै रङको भएर पाक्नू ।”
त्यो दिन आलु, प्याज, लसुन, अदुवा, अम्बा, करेला, भोगटे, निबु, कागती, बोडी, रामतोरिया, फर्सी मात्रै होइन, धर्तीमा भएका सबै फलफूल तरकारी लाइनमा रहेछन् । तिनलाई पाक्ने उपाय बताइदिँदा बताइदिँदै स्वर्गवासी निवासी अप्सरा हत्तुहैरान भइछन् । बोल्दाबोल्दै ओठमुख पनि सुक्न थालेछ । अघिदेखि तिर्खा लागेको थाहा पाउँदापाउँदै पनि पानी खान जानसमेत भ्याइनछिन् ।
त्यैबेला उनको सामुन्नेमा स्कुस परेछ । “म कसरी पाकूँ हजुर ?” उसले सोधेछ ।
“यी यसरी पाक्नू ?” दिक्क भएकी अप्सराले रिसैले फरिया उचालेर देखाइदिइछन् । त्यै भएर स्कुस अप्ठ्यारो ठाउँमा काँडैकाँडा भएर र जिब्रो फुत्त बाहिर निकालेर पाक्न थालेको रे Û”
सुवासले जोक्स सुनाइसक्नासाथ साथीहरू खित्का छाडेर, पेट मिचिमिची हाँस्न थाले । कोही त डल्लो नै परे ।
त्यहीबेला कसोकसो गर्दा उसका आँखा आफूभन्दा पछाडिको भागमा पुगे, किताब पढेजस्तै गर्दै बसेकी जानुका पनि एक्लै हाँस्दै रहिछ । किताबले मुख छोपेर ।
त्यो दृश्य सुवासका अरू साथीहरूले पनि देखे । त्यसपछि हाँसोको फोहोरामा अरू पानी थपिएजस्तो भयो । केटाहरू मूर्छा हुनेगरी हाँस्न थाले । अरूलाई हँसाए पनि आफूचाहिँ अड्कलेर मात्र हाँस्थ्यो । तर जानुकासँग आँखा जुधेपछि उसले हाँस्नबाट आफूलाई रोक्नै सकेन । खित्का छाड्दै बाहिर निस्केर टाप ।
-अविरलको उपन्यास विषपुरुषको अंश)