द्वन्द्वमा आँखा फुट्यो, लोकतन्त्र देख्न सकिनँ

बुङमती (ललितपुर)– देशले लोकतन्त्रको सातौं वार्षिकोत्सव मनाउँदैछ। बुङमतीका १६ वर्षे सुनिल तामाङलाई उत्सवले छोएको छैन। सशस्त्र द्वन्दका क्रममा २०६१ पुस ५ गते काभ्रेको खोपासीमा सडकमा रहेको एम्बुसमा परेर दुवै आँखाको ज्योती गुमाएका सुनिलले आफूले लोकतन्त्र आएको महसुस कहिल्यै नगरेको सुनाए।



'हेर्न नसके पनि महसुस गर्न सक्थेँ होला,' लोकतन्त्र दिवसको अघिल्लो दिन मंगलबार उनले नागरिकसँग भने, 'तर देशमा लोकतन्त्र आएको मैले थाहा पाइनँ।' रेडियो तथा टिभीमा समाचार सुन्दै आएका तामाङले देश 'सिस्टममा' हिँड्न नसक्दा समस्या आएको सुनाए।

'पहाडमा मोटर गुडेको, जनताले न्याय पाएको र द्वन्द्वपीडितले राहत पाएको आफूले हेर्न चाहेको बताउँदै त्यो नहुन्जेल लोकतन्त्र देख्न नसकिने उनको धारणा छ। आँखाको ज्योती नभए पनि कक्षा १ देखि ७ सम्म प्रथम हुँदै आएका उनले आत्मविश्वासले अघि बढ्न सकिने बताए।

'ब्रेललिपि सिकेर प्रथम हुँदै आएँ,' उनले भने, 'अझै मिहेनत गरेर अघि बढ्नेछु।' आँखाको ज्योती गुमे पनि विगतको यादहरु सपनीमा देख्ने गरेको उनले सुनाए। 'आँखाको ज्योती गुमेयता सपनी पनि त्यति राम्रो देखिएको छैन,' उनले भने, 'देश राम्रो भए सपना राम्रो देख्थेँ कि!'

सात वर्षको उमेरमा साथीभाइसँग खेल्दै गर्दा उनी खोपासीस्थित घरनजिकैको एम्बुसमा परेका उनले बमको छर्राले पोल्न छाडे पनि मन शान्त नभएको सुनाए।

'सडकमा झन्डा गाडेको लौरो लिन हामी तीन साथीले दौड लगाएका थियौं,' उनले सम्झे, 'पहिलो हुने सुरज बाइवाको मृृत्यु भयो, दोस्रो हुने मेरो आँखा गुम्यो।' सँगै रहेका अर्का साथी सन्जय कोइरालाको भने बमको छर्राले चिउँडो लगेको उनले सुनाए।

घटनालगत्तै उपचार पाएका कारण जीवित बन्न सकेका लामाले त्यतिबेला आफू मरेको हल्लासमेत चलेको सुनाए। 'डाक्टरको उपचारले जेनतेन बाचेँ,' उनले भने, 'अब धेरै पढेर समाजको सेवा गर्नेछु।' बमको छर्रा आफ्नो अनुहार क्षतविक्षत बनाएको उनले सुनाए।

सुनिलको आमा–बुबा मकवानपुरको छतिवनबाट काभ्रेको खोपासीमा आएको उनले बताए। 'बुबाहरु अरुको काम गरेर जीविका चलाउनुहुन्छ,' बुङमतीस्थित आदर्श शौल युवक उच्चमाविका यी विद्यार्थीले भने, 'म यही होस्टलमा बसेर पढ्दैछु।' लामो समयसम्म पनि आफ्नो परिवारको आर्थिक स्थितिमा परिवर्तन हुन नसकेको उनले बताए।

चार दिदीका एक्ला भाइ सुनिलले बाआमा बुढा हुँदै गएकाले परिवारको जिम्मेवारी केही समयपछि आफ्नो हातमा आउने सुनाए। 'म त्यसका लागि आफूलाई तयारी गर्दैछु,' उनले भने, 'म सक्षम बनेर उहाँहरुलाई डोराउनेछु।'

उच्चमाविका प्राचार्य सरोजभक्त आचार्यले सुनिल निकै जेहेनदार विद्यार्थी भएको बताए। 'ऊ पढाइअलावा अन्य गतिविधिमा पनि स्मार्ट छ,' उनले भने, 'आँखा नदेखे पनि उसले गरेको प्रगतिबाट अरु विद्यार्थीले हौसला पाएका छन्।'