चैत ५ – पर्वतको पाखापानी गाविसकी एक महिलालाई परिवारका सदस्यले ज्यानमार्ने धम्कीसहित घर निकाला गरेका छन् ।
पाखापानी गाविस– १ की डिलकुमारी क्षेत्रीलाई श्रीमान् शेरबहादुर क्षेत्रीसहित परिवारका अन्य सदस्यले ज्यान मार्ने धम्की दिँदै घर निकाला गरेका हुन् ।
पति र सासू, जेठाजु, जेठानीलगायतले पटकपटक धम्की, कुटपिट गर्दै घर निकाला गरेको भन्दै पीडित क्षेत्रीले जिल्ला प्रहरी कार्यालय पर्वतका उजुरी गरेकी छन् ।
उजुरीमा श्रीमान् शेरबहादुर क्षेत्री सासू लक्ष्मीकुमारी क्षेत्री, जेठाजु फणीन्द्र क्षेत्री र जेठानी दिलकुमारी क्षेत्री मिलेर घरमा बसेमा ज्यान लिनेसम्मको धम्की दिँदै गल्हत्याउँदै घरबाट निकालेको उल्लेख गरिएका छन् ।
उनको शेरबहादुरसँग २०६६ वैशाखमा मागी विवाह भएको हो । पीडित डिलकुमारीको निवेदन दर्ता गरी दुवै पक्षलाई झिकाई छलफल गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने धम्कीसहित महिलालाई घर निकाला