आर्थिक-व्यावसायीक सम्बन्ध बिस्तारमा नवनियूक्त चीनीया राजदूतको जोड

१० चैत, काठमाडौं । नेपालका लागि नवनियूक्त चीनीया राजदुत उ चुन्ताइले दुई देशबीच राजनीतिक भन्दा आर्थिक एवं व्यापारीक सम्बन्धलाई मजबुत बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल-चीनबीचको आर्थिक एवं व्यापारिक सम्बन्ध थप मजबुत बनाउन सकेमा दुबै देशको दिगो हित हुने उहाँको भनाई थियो ।



शनिबार नेपाल चाइना चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिज (एनसीसीसीआई) का प्रतिनिधिहरुसँगको भेटवार्तामा राजदुत चुन्ताइले दुई देशबीचको आर्थिक-व्यावसायीक सम्बन्ध थप मजबुत बनाउन आˆनो तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । ‘दुई देशवीच व्यापार विस्तारमा यातायात र ढुवानी मूख्य समस्या रहेको छ’ उहाँले भन्नुभयो- ‘मैले आफ्नो कार्यकालमा सडक, भौतिक संरचना निर्माण, जलविद्युत, कृषिजन्य उत्पादन तथा पर्यटन विकासका लागि विशेष जोड दिनेछु ।’

चलचित्रमार्फत नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउन चीनीया कलाकारहरु चलचित्र छायाङ्कनका लागि छिट्टै नेपाल आउन लागेको राजदूत चुन्ताइले जानकारी दिनुभयो । उहाँले नेपाली नीति-नियमको अधिनमा रहने गरि चीनीया वैंकको स्थापना गर्न पहल गर्ने भेटवार्तामा बताउनुभयो । चीनले विशेष आर्थिक क्षेत्रमार्फत औद्योगिक क्षेत्रमा गरेको सफलताको अनुभव नेपालसँग साट्ने उहाँको भनाई थियो ।

भेटवार्तामा एनसीसीसीआईका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा चिनिया लगानी भित्राउन र पूर्वाधारको विकासमा सहयोग गर्न राजदुत चुन्ताइलाई आग्रह गर्नुभयो । उहाँले तातोपानी भन्सारमा अत्याधुनिक प्रविधियुक्त भवन निर्माण, सडक विस्तार र क्वारेन्टाइनको व्यवस्थामा चीनीया सहयोगको अपेक्षा गरेको बताउनुभयो ।