बिरोधमा हैन, खुसीमै जलाइयो नेताका पुत्ला !

पुत्ला दहन, राजनीतिमा कसैको बिरोध गर्ने सवैभन्दा चर्चित काइदा हो । बिपक्षी दलका कार्यकर्ताले मात्र हैन, आफ्नै दलका कार्यकर्ताले नेताको पुत्ला जलाएको हाम्रै नेपालमा पनि देख्न पाइन्छ ।

तर, पुत्ला बिरोधमा मात्र जलाइन्न रहेछ । स्पेनमा खुसी मनाउने उत्सवमा समकालिन राजनीतिका चर्चित अनुहारहरुको पुत्ला जलाइन्छ । विश्वमा आफ्नो अनौठो उत्सवका कारण चर्चित स्पेनमा मार्चमा मनाइने लस फालस फेस्टिवलमा राजनीतिका चर्चित अनुहारहरुको पुत्ला जलाइन्छ ।



यो उत्सव स्पेनभरी नै मनाइन्छ । यसको मूख्य केन्द्र भने भ्यालेन्सिया हो । जहाँ एक साता लगाएर यसको तयारी गरिन्छ । हरेक वर्ष उत्सवको अन्तिम दिन ठूलो आतिशबाजीका बीच पुत्लाहरु जलाइन्छ । यो उत्सवको सुरुवातबारे फरक-फरक मत पाइन्छ । तर, यसको सुरुवात मध्ययूगमा मार्च १९ तारिखका दिनमा भ्यालेन्सियामा कारपेन्टरहरुले सेन्ट जोसेफको सम्झनामा पुत्ला जलाएपछि सुरु भएको धेरैको विश्वास छ ।



यो जर्मन चान्सलर एंगला मर्केलको पुत्ला हो

सेन्ट जोसेफ डेलाई स्पेनमा फादर्स डे का रुपमा समेत मनाउने गरिन्छ । यो उत्सवमा युवाहरुको सहभागिता उल्लेख्य हुने गर्छ । यो उत्सवमा सबैभन्दा राम्रो पुत्ला छान्न चुनाव समेत हुन्छ, जसलाई अन्तिममा मात्र जलाउने गरिन्छ ।

भ्यालेन्सियामा मात्र करिव ३ सय पुत्ला जलाउने गरिन्छ । अर्थात रात पूर्ण रुपमा आतिशबाजी र पुत्लामय हुन्छ । यस क्रममा कुनै एक राम्रो पुत्लालाई म्यूजियममा लगेर सजाएर राख्ने गरिन्छ ।



यो स्पेनका प्रधानमन्त्री मारियानोको पुत्ला हो । अन्य देशमा प्रधानमन्त्रीको पुत्ला जलाए पुलिसले लाठी हानेपनि स्पेनमा भने महोत्सवका रुपमा मनाइन्छ ।



एजेन्सीको सहयोगमा