मादक पदार्थ सेवन गरी अस्पतालमा २ डाक्टरको बितन्ड!

चैत १० -मादक पदार्थ सेवन गरेका २ डाक्टरले गत बुधबार राति दमौली अस्पतालमा वितण्डा मच्चाएको खुलासा भएको छ। ड्युटी नभएको समयमा नाइट राउण्डमा आएको भन्दै मादक पदार्थ सेवन गरेका डाक्टरले ३ घण्टासम्म अस्पतालमै कार्यरत महिला स्वास्थ्यकर्मीलाई अपशब्द प्रयोग गरेका थिए।



दमौली अस्पतालमा कार्यरत डा. सरोज कंडेल र मेलकुना अस्पताल सुर्खेतमा कार्यरत डा. किरण सोतीले अस्पतालका महिला स्वास्थ्यकर्मीमाथि अपशब्द, दुव्यर्वहार र अस्पतालमा हो हल्ला गरेका थिए। दमौली अस्पतालमै कार्यरत डा. सोती केही महिना अधि मात्र सुर्खेत सरुवा भएका हुन्।

अस्पतालमै कार्यरत डा. बुद्धिसागर लामिछानेको क्वाटरमा बसेर रक्सी सेवन गरेका सोती र कंडेल बुधबार राती करिब एक बजेको समयमा अस्पतालमा पुगेर 'बुढी सिष्टरहरु सबै सुत, तरुणी सिस्टरहरु जति राउण्डमा आउँ' भन्नुका साथै दूव्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताइन्। त्यो दिन नाइट ड्युटी अस्पतालमै कार्यरत डा. प्रतिक्षा थापाको रहेको थियो।

'अस्पताल पुगेका डाक्टरहरुले बिहान ४ बजेसम्म अस्पताल परिसरमा हो हल्ला गरेका थिए,' श्रोतले भन्यो, 'डाक्टरले नै अस्पतालमा मनलाग्दी र अपशब्द बोलेपछि हामी आफै डरायौ।' घटनाका बखत अस्पतालमा कार्यरत कर्मचारीसंगै ओजिटीका लागि आएका आइडिया नर्सिड कलेज पोखराका २ र गण्डकी टेक्निकल इन्ष्टिच्युट दमौलीका २ अनमी विद्यार्थीहरु थिए भने आधा दर्जन भन्दा बढि विरामीहरु उपचार गराई रहेका थिए।

डाक्टरहरुले अस्पतालको आकस्मिक तथा बहिरंग विभाग सहित अन्तरंग विभागमा समेत पुगेर होहल्ला गरेको श्रोतले जनाएको छ। घटनाको विषयलाई लिएर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सामुहिक बैठकले स्वास्थ्यकर्मी अस्पतालकै कर्मचारीबाट असुरक्षित रहेको, रातीको समयमा काम गर्न सक्ने वातावरण सृजना नभएको र मादक पदार्थ खाएर अस्पतालमा हो-हल्ला गर्ने र महिला स्वास्थ्यकर्मीमाथी अपशब्द बोल्ने डाक्टरलाई कारर्वाही गर्न माग राख्दै शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय तनहुँमा निवेदन समेत बुझाएका थिए।

घटनामा विषयमा कुरा गर्न खोज्दा डा. सरोज कंडेलले घटना भएको राती आफू अस्पतालमा गएर हल्ला नगरेको भन्दै मोबाइल फोन काटे। डा. सोतीको मोबाइल स्वीच अफ थियो। डाक्टरहरुले विभिन्न महिला स्वास्थ्यकर्मीको नाम जोड्दै क्वार्टरमा समेत हो हल्ला गरेका थिए।

क्वाटरमा बसेर मादक पदार्थ सेवन गरेका डाक्टरहरुले रातको समयमा अस्पतालमा गएर हो हल्ला गरेको स्वीकार गर्दै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. तारानाथ पौडेलले कार्यालयको तर्फबाट उनीहरुलाई सचेत गराइसकिएको बताए। 'अस्पतालका स्वास्थ्यकर्मीबाटै असुरक्षित भएको भन्दै काार्यलयमा निवेदन आएको छ,'उनले भने, 'डाक्टरहरुलाई सचेत गराउने र सुधार नभए विभागिय कारर्वाहीको प्रक्रिया अघि बढाइन्छ।'