मिस नेपाल २०१३’को छनोट आज हुँदै

काठमाडौं, चैत ७ ‘मिस नेपाल २०१३’को छनोट बुधबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। देशका विभिन्न ठाउँबाट छानिएका १८ युवतीबाट एक जनाले मुख्य ताज हात पार्नेछन्। वर्तमान मिस नेपाल सृष्टि श्रेष्ठलाई बुधबार नै बिदाइ गरिनेछ। प्रतियोगिताको १८ औं संस्करणको अन्तिम तयारीमा जुट्दै गर्दा आयोजक हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतिले भने, ‘पहिलो मिस नेपाल गर्दाको याद ताजा भएको छ।’ सोमबारदेखि प्रतियोगीहरु बन्द प्रशिक्षणमा छन् भने ग्रान्ड रिहर्सल समेत सम्पन्न भएको छ।

यसपालि फ्यान्टाले यसको टाइटल प्रायोजन गरेको छ। समीक्षा श्रेष्ठ, रचना भारती, सिपोरा गुरुङ, विन्दु केसी, माया सवाद, इशानी श्रेष्ठ, सुजाता बलामी, मेघना श्रेष्ठ, श्रुतिमा शाह, प्रतिमा गिरी, ओशिमा बानु, रक्षा थापा, रोजिशा शाही, अस्मिता सिटौला, सुमी लामा, रेणु पोखरेल, ऐश्वर्या उपाध्याय र रिजु श्रेष्ठले मिस नेपालको उपाधिका लागि भिड्दै छन्।



कोरियोग्राफर रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकारले प्रतियोगीहरुलाई सानेपास्थित अन्तर्राष्ट्रिय क्लबमा प्रशिक्षण दिएका थिए। ‘एक महिनाको प्रशिक्षणमा हामीले सिकाएका कुरालाई प्रतियोगीहरुले स्टेजमा प्रस्तुत गर्नेछन् भन्ने विश्वास छ। फेरि प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको छ,’ रचनाले भनिन्। कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीको प्रस्तुति पनि रहनेछ।

यसपटकको अडिसन माघ २९ देखि सुरु भएको थियो। विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार रुपैयाँ नगद पाउनेछन्। आयोजकका अनुसार एक हजारदेखि चार हजारसम्मका टिकट बिक्रीमा राखिएको छ।