वैद्य माओवादी कार्यकर्ताद्वारा मतदाता नामावली संकलनमा अवरोध

बाग्लुङ,चैत ११ - मुलुक निर्वाचनमा जाने तयारी गरिरहँदा यहाँ बैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावलीको अद्यावधिक गर्न अवरोध सृजना गरेका छन्। जिल्ला निर्वाचन कार्यालय, बाग्लुङबाट फोटो सहितको नामावली संकलन गर्न गएको टोलीलाई नामावली संकलनमा रोक लगाएर आइतबार सामाग्रीसमेत जफत गरेका हुन्। प्रमुख तीन दल र मधेशी मोर्चाको सहमतिमा खिलराज रेग्मी नेतृत्वमा गठन गरिएको मन्त्रिपरिषदको खारेजी लगायतका माग गर्दै माओवादीका कार्यकर्ताले रोक लगाएका हुन्। माओवादी कार्यकर्ताले बाग्लुङ नगरपालिका-३ जिल्ला प्रशासन कार्यालय नजिकै रहेको एक केन्द्रका मतदाता अनुसूची लगायतका फारम जफत गरेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए। 'बाग्लुङ नगर क्षेत्रका आठ केन्द्रमा आजबाट छुटेका मतदाताको फोटो सहितको नामावली अद्यावधिक गर्न टोली खटाएका थियौँ,' उपाध्यायले भने, 'नेकपा माओवादीका कार्यकर्ताले अबरोध सृजना गरेपछि काम रोकिएको छ।' निर्वाचन कार्यालयले छुटेका मतदाताको फोटो सहितको नामावली तयार गर्न आज बाग्लुङ नगरपालिका आठ वटा वडा ,राजकुत र दगातुन्डाँडामा टोली खटाएको थियो। खिलराज रेग्मी नेतृत्वको असंवैधानिक सरकारको विघटन, प्रमुख दलबीच भएको चार बुँदे सहमति खारेज, सर्वदलीय सर्वपक्षीय गोलमेच लगायतको माग गर्दै अवरोध गरेको नेकपा माओबादी,बाग्लुङका ईन्चार्ज टेक बहादुर के.सी. 'आजाद'ले बताए। 'मुलुक चार दलको सिन्डिकेटमा चल्न सक्दैन,' ईन्चार्ज आजादले भने, 'सबै दलसँग सहमति नगर्दा सम्म निर्वाचन हुन नसक्ने भएकोले अवरोध गरेका हौँ।'