नेपालको राजनीतिमा भारतको चासो भए पनि आन्तरिक मामिलामा हस्तक्षेप कहिल्यै गर्दैनौः भारतीय नेताहरु
काठमाडौं,फागुन २६ । नेपाल भ्रमणमा रहेका प्रमुख भारतीय दलका प्रभावशाली नेताहरुले नेपालमा राजनीतिक दलहरुवीचको राजनीतिक सहमति भएर फेरि संविधानसभाको निर्वाचन भएको हेर्न चाहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा नेताहरुले नेपालमा विगत पाँच वर्षमा दलहरुवीच सहमति हुन नसकेको र संविधान आउन नसकेकोमा दुख समेत ब्यक्त गरेका थिए । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालमा राजनीतिक दल वा प्रशासक कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने विषयमा भएको स्पष्ट पार्दै नेपालको राजनीतिमा भारतको चासो भए पनि आन्तरिक मामिलामा हस्तक्षेप कहिल्यै नगर्ने स्पष्ट पारे । नेपालमा शान्ति र स्थायीत्व भए भारतमा पनि त्यसको प्रभाव पर्ने भएकोले भारत सधै नेपालमा शान्ति र स्थायीत्वको पक्षमा उभिएको बताउँदै जोलीले नेपालका राजनीतिक दलहरुले विगत पाँच वर्षदेखि सहमति कायम गर्न नसकेकोमा दुख ब्यक्त गरे । उनले भने–अब नेपालमा सहमतिको वातावरण बनेको छ । यसलाई पूर्णता दिएर दलहरु अघि बढ्नु पर्छ । जोलीले केही साताभित्रै नेपालमा सहमति भएर निर्वाचन हुने विश्वास गर्दै राजनीतिक सहभातिको यात्रालाई निरन्तरता दिन आग्रह गरे । जनता दल यूनाईटेडका महासचिव केसी त्यागीले नेपालमा छिटो निर्वाचन गर्न नेपाली जनताले दलहरुलाई दवाव दिनु पर्ने आवश्यकता औल्याउँदै नेपालमा दलहरुवीच छिटो सहमति भएर निर्वाचन हुने विश्वास ब्यक्त गरे । उनले असल छिमेकीको नाताले नेपालको राजनीतिमा भारतको चासो र चिन्ता भए पनि हस्तक्षेप नरहेको स्पष्ट पार्दै नेपालमा कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने विषय नेपाली जनताको विशुद्ध आन्तरिक मामिला भएको बताए । कांग्रेस आईका सांसद प्रकास चौधरीले नेपाल भारतवीचको परम्परागत सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले आफूहरु नेपाल आएको भन्दै नेपाल र भारतको सम्बन्ध पछिल्लो समयमा अझै प्रगाढ भएको आफूले पाएको बताए । उनले नेपाल भारतवीचको सम्बन्ध रोटी र बेटीको भएकोले यसलाई कसैले चाहेर पनि विगार्न नसक्ने दावी गरे । दिल्ली महानगरपालिका की पूर्व मेयर एवंम भाजपा नेतृ अर्थि मेहराले आफूहरु भारत र नेपालका महिलाहरुको समान खाल्को चुनौति र समस्या भएकोले महिला शसक्तिकरण गर्ने उद्देश्य लिएर नेपाल आएको जानकारी दिदै भ्रुण हत्या, शिक्षा, रोजगारी, विवाहको विषयमा समान खालको संस्कार भएको बताईन । नेपालमा लोकतन्त्र र त्यसप्रतिको आस्था कायम रहोस भन्ने कामना गर्दै उनले नेपालमा स्थिर सरकार निर्माणको लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन । भारतीय जनता पार्टीका यूवा नेतृ ध्वनी शर्माले नयाँ नेपाल निर्माणको लागि नेपाली यूवाहरुलाई अघि आउन आब्हान गर्दै ५३ प्रतिसत महिला रहेको मुलुकको विकासको लागि संगठित महिलाको आवश्यकतामा जोड दिईन । उनले जहाँ नारीको ईज्जत हुन्छ त्यहाँ ईश्वरको बास हुने भन्दै नेपालको राजनीतिमा नारीको प्रतिनिधित्वको वकालत गरिन । पञ्जाव विश्व विद्यालयका सचिव प्रोफेसर सुरेन्द्र पाल सिह आलुवालीयाले नेपाल र भारतवीच रोटी बेटीको सम्बन्ध भएको भन्दै नेपालमा शान्ति र सुख भए भारतमा पनि त्यसको प्रभाव पर्ने बताए । कलाकार राकेश जैसवालले नेपाललाई सक्रमणबाट बाहिर निकाल्न यूवा अघि बढ्नु पर्नेमा जोड दिदै लोकतन्त्र र विकासको लागि सरकारमाथि दवाव दिनु पर्ने बताए ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं