सावधान ! होलीको रङले क्यान्सर गराउला

होलीको चहलपहल सुरु भैसकेको छ । होली रंगहरुको पर्व हो । त्यसैले रङ बिना होलीको कुनै अस्तित्व नै हुँदैन भन्दा फरक नपर्ला । तर पछिल्लो समयमा विभिन्न खालका हानिकारक रसायनयुक्त रङहरु बजारमा आएका छन् र त्यस्ता रङ सरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्याहरु आउने विज्ञहरु बताउँछन् ।



चिकित्सकहरुका अनुसार बजारमा पाइने अधिकांस रङ विभिन्न खालका रसायन मिसाइएका हुन्छन् । बजारमा हर्वल रङ पाउन गाह्रो छ । यस्ता खालका कृत्रिम रङ छालाको लागि निकै हानिकारक हुन्छन् । त्यसकारण यस्ता रङ किन्दा र सरीरमा दल्दा होसियारी अपनाउनु आवश्यक छ ।

बजारमा पाइने अधिकतम रङहरुमा धातु तथा अम्ल लगायतका हानिकारक पदार्थ मिसाइएको हुन्छ । यस्ता रङले छालामा मात्र होइन भुलबस निलेमा पेटमा पनि असर पुराउँछन् । रङमा मिसाइने त्यस्ता हानिकारक पदार्थले मानिसमा क्यान्सर गराउने खतरा पनि हुने बताइन्छ । यस्ता रङ आँखामा परेमा आँखा पोल्ने देखि लिएर अन्धोपन निम्त्याउने खतरा पनि हुन्छ । साथै रङमा हुने हानिकारक पदार्थले मानिसमा पक्षाघातको जोखिम पनि बढि हुन्छ ।

यस्ता रङ पानी मार्फत सरीरभित्र प्रवेश गरेमा त्यो लामो समयसम्म सरीरभित्रै रहने तथा कोषहरुमा क्षति पूराउने र रक्त क्यान्सर समेत गराउन सक्ने खतरा रहेको विज्ञहरुको भनाइ छ ।