साउदी जान खोज्दा एचआइभी लागेको झुटो रिपोर्ट ! एउटाले भन्छ एचआइभी लाग्यो, अरु भन्छन् छैन

९ चैत, काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी अरबमा पैसा कमाउने सपना साँचेर गाउँबाट काठमाडौं आइपुगेका एक नेपाली युवा आफूमा एचआइभी संक्रमण भएको खबर सुन्दा छक्कै परे । कसैसित अनुचित यौनसम्बन्ध नराखेका उनले साउदी जान नपाएपछि अरु तीनवटा मेडिकल सेन्टरमा परीक्षण गराएपछि बल्ल थाहा पाए, त्रिपुरेस्वरस्थित ‘लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर’ ले उनलाई झूटो रिपोर्ट दिएको रहेछ !



गलत रिपोर्ट देखाई एचआइभी संक्रमणको आरोप लगाएको र साउदी जानबाट बञ्चित पारेको भन्दै पीडित युवकले लाइफ केयर सेन्टरमाथि कडा कारबाही गर्न र आफूलाई क्षतिपूर्ति भराउन बुधबार श्रम तथा रोजगार मन्त्रालयका सचिवसमक्ष उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराउने पीडित युवक हुन्- सुन्दर रोका । उनको पासपोर्ट नम्बर हो- ३८२८३२१ । रोकाले ४ हजार रुपैयाँ तिरेर लाइफ केयरमा स्वास्थ्य जाँच गराउँदा एचआइभी पोजेटिभ भएको रिपोर्ट आएको थियो । तर, अन्य ३ वटा स्वास्थ्य संस्थामा पुनः परीक्ष्ण गर्दा उनमा एचआइभी पोजेटिभ नदेखिएपछि उनले लाइफकेयर विरुद्ध उजुरी दिएका हुन् ।

‘मेरो स्वास्थ्य विगतदेखि नै ठीक रहेको र एचआइभी लाग्नेजस्ता जोखिमयुक्त कार्य कहिल्यै नगरेकाले सो रिपोर्टमा विश्वसनीय हुन नसकी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वास्थ्य जाँच गराउँदा एचआइभी नन्रिएक्टिभ भएको पाएँ ।’ रोक्काले मन्त्रालयमा दिएको निवेदनमा भनेका छन्, ‘तर, स्वास्थ्य जाँच गराउँदा साउदी जान पाइँन ।’

पीडित रोकाले निवेदनमा भनेका छन्-’मलाई लाग्दै नलागेको एचआइभी पोजेटिभ रिपोर्ट दिने संस्था लाइफ केयर सेन्टरलाई कडा भन्दा कडा कारवाही गरी मेरो क्षतिपूर्ति दिलइ दिनुहुन तथा नेपाल सरकारबाट सूचिकृतमध्ये जुनसुकै स्वास्थ्य संस्थाको रिपोर्टको आधारमा साउदी अरब जान सक्ने प्रावधान मिलाइदिनुहुन बिनम्र निवेदशन गर्दछु ।’

पीडितले श्रंम तथा रोजगार मन्त्रलायलाई दिएको निवेदनको बोधार्थ स्वास्थ्य र परारष्ट्र मन्त्रायललाई समेत दिएका छन् । साथै वैदेशिक रोजगार विभाग नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीमा समेत लाइफकेयर सेन्टर त्रिपरेश्वरविरुद्ध उजुरी दिइएको छ ।

जहाँसुकैबाट स्वास्थ्य परीक्षण गराउँदा समस्या

वैदेशिक रोजगारीमा जाने युवायुवतीले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने कानूनी प्रावधान छ । तर, कतिपय मानिसहरुले सरकारबाट मान्यता नपाएका स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने गरेका छन् । नेपाल सरकार वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा २ सय ५ वटा स्वास्थ्य संस्थालाई मान्यता दिएको विवरण समावेश गरेको छ । रोकालाई एचआइभी पोजेटिभ देखाउने लाइफ केयर त्रिपुरेश्वरको नाम वैदेशिक रोजगार विभागको वेभसाइटमा १ सय ३४ औं नम्बरमा समावेश छ । रोकालाई एचआइभी पोजेटिभको रिपोर्ट दिने डा. रवि रौनियार हुन् ।