'दाइजो न ल्याएको कारण बुहारीको झुन्ड्याएर हत्या'

इटहरी, माघ २३ - सुनसरी जिल्लाको छिटाहाकी २९ वर्षीया राधा मेहतालाई कर्तव्य गरी मारेको अभियोगमा मृतकका ससुरा शिवराम मेहता र उनको श्रीमान सन्तोषकुमार मेहतालाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ।


शिवराम मेहताको बुहारी राधा झुण्डिएको अवस्थामा केही दिनअघि शव फेला परेको र शवको प्रकृति हेर्दा घरमा नै मारेर झुण्ड्याएको जस्तो फेला परेकाले शङ्का लागि ससुरा शिवराम र लोग्ने सन्तोषकुमारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। सुनसरी जिल्लाको सदरमुकाम इनरुवा-६ माइत भएकी राधालाई परिवारकै मानिसले हत्या गरेको भन्दै राधाका काका श्यामसुन्दर मेहताले प्रहरीमा किटानी जोहरी दिएका र उनीहरुले आफ्नो भतिजीलाई दाइजोकै विषयलाई लिएर हत्या गरेको दाबी समेत गरिएको पनि प्रहरीले बताएको छ।

पक्राउ परेका शिवराम र लोग्ने सन्तोष कुमारले आफूहरुले हत्या नगरेको भन्दै राधाको हत्यालाई आत्महत्या नै भन्दै आएको भए पनि उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको तथा आज पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको यथार्थ बाहिर आउने पनि प्रहरीले बताएको छ।

शिवरामका छिमेकीहरुले पनि सधैँ झै-झगडा र कलह हुने गरेकाले परिवारकै मानिस मिलेर राधाको हत्या गरेको हुनसक्ने आशङ्कासमेत वयान दिएकाले सो घटना आत्महत्या हुन नसक्ने प्रहरीले पनि अनुमान गरेको बताइएको छ। -रासस