झडपमा २ अपहरणकारीको मृत्यु, वालक शकुशल मुक्त (भिडियो समाचार)

झडपमा २ अपहरणकारीको मृत्यु पछि अपहरित वालक शकुशल मुक्त पर्साको भेडियाही गाउँ विकास समितिमा आज बिहान प्रहरी र अपहरणकारीबीच भएको दोहोरो झडपमा २ जना अपहरणकारीको मृत्यु भएको छ । वीरगंज आदर्शनगरबाट दश दिनअघि अपहरणमा परेका बालक श्लोक अग्रवालको उद्धारका लागि भेडियाही पुगेको प्रहरी टोली र अपहरणकारीबीच झडप भएको हो । प्रहरीले अपहरित बालक श्लोक अग्रवाललाई सकुशल मुक्त गराएको छ । झडपपछि प्रहरीले घटनास्थलबाट केही हतियारसहित ६ जना अपहरणकारीलाई पक्राउ गरेको वीरगंजस्थित हाम्रा सम्वाददाता नेहाल खानले जनाएका छन् । नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख सर्वेन्द्र खनाल र पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको संयुक्त कमाण्डमा खटिएको टोलीले सुराकीको आधारमा भेडियाहीस्थित रामनाथ गिरीको घरमा छापा मार्दा दोहोरो झडप भएको थियो । झडपका क्रममा घाइते भएका २ जना अपहरणकारीको वीरगंजस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा भेडियाहीका सञ्जय गिरी र हरपुरका विन्देश्वर प्रसाद रहेको प्रहरीले पुष्टी गरेको छ । झडपमा ३ प्रहरी घाइते भएको र उनीहरुको वीरगंजमा उपचार भइरहेको छ । अपहरणमुक्त गरिएका बालक अग्रवाललाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।