२८ प्रतिशत विद्यार्थी लागूऔषध दुर्व्यसनमा

राजधानीमा बसेर पढिरहेका २८ प्रतिशत विद्यार्थी लागूऔषधको कुलतमा रहेको एक अनुसन्धानले देखाएको छ । लागूऔषध नियन्त्रण ब्युरोले ६ महिना लगाएर गरेको अध्ययनबाट त्यस्तो देखिएको हो । सर्वेक्षणअनुसार काठमाडौंमा सातामा २ केजी हेरोइन सप्लाई हुने गरेको छ ।


लागूऔषधको कारोबार र दुर्व्यसनीमा लागेका १ सय युवाहरूबीच गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो । ब्युरोले काठमाडौं परिसर र ५ वटा वृत्तमा समातेर थुनिएका १ सय जनाबीच गरेको अनुुसन्धानबाट विभिन्न व्यवसायमा लागेका १७ प्रतिशत युुवा लागूऔषधको कुलतमा छन् । यस्तै प्रहरी, आर्मी, डाक्टर, नर्स, चालक, किसानलगायत अन्य पेसामा रहेका व्यक्ति लागू औषधको दुुव्र्यसनीमा छन् ।

यसरी दुर्व्यसनीमा लाग्नेहरू ६७ प्रतिशत राजधानी बाहिरबाट काठमाडौं आएकाहरू छन् । ३३ प्रतिशत भने काठमाडौंकै रैथानेहरू छन् । ३१ प्रतिशत प्लस टु पढिरहेका विद्यार्थीले लागूपदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै २८ प्रतिशत स्कुल तहमा पढ्ने विद्यार्थीहरू रहेका छन् । २२ प्रतिशत १० कक्षा पढिरहेका विद्यार्थी छन् । यस्तै स्नातक तह पढिरहेका १९ प्रतिशत छन् । ९७ प्रतिशत पुरुष र ३ प्रतिशत महिला छन् । लागूऔषध प्रयोग गर्ने युवामा टाटु बनाउने स्वभाव भने एकै प्रकारको देखिएको छ ।

लागूऔषध प्रयोग गर्नेमध्ये ५१ दशमलव ६६ प्रतिशतले शरीरका विभिन्न भागमा चराको टाउको, तारा, सर्प, बुद्ध र माछाजस्ता अनेक प्रकारका टाटु बनाउने गरेको पाइएको छ । अनुसन्धानमा लागूऔषधमाथि नै अनु्सन्धान गरिरहेका २५ प्रहरी पनि सामेल थिए । उनीहरूलाई प्रश्न बनाएर त्यो भर्न लगाइएको थियो ।लागूऔषधको कुलतमा धेरैजसो साथीबाट खरिद गरेर खाने गरेको अनुसन्धानले देखाएको छ । ‘आफूले खाना खर्च निकाल्नका लागि दोस्रो साथीलाई बेच्ने गरेको पाइयो,’ लागूऔषध नियन्त्रण ब्युरोका डीआईजी केदार साउदले भने, ‘७७ प्रतिशतले साथीबाट खरिद गरेर सेवन गर्दारहेछन् । लागूऔषधका तस्करबाट सोझै १८ प्रतिशतले किनेर खाने गरेको पाइयो । सेवन गर्न पनि ९८ प्रतिशतले साथीबाट नै सिक्ने गरेको देखिएको छ । २ प्रतिशतले फिल्म र टेलिफिल्मबाट सिक्ने गरेका छन् ।

यस्तै लागूऔषध प्रयोग गर्नुपर्ने कारणमा ४४ प्रतिशत नैराश्य, २६ प्रतिशत तनाव र रिसका कारण खाने गरेका छन् । सन्तुष्टिका लागि प्रयोग गर्ने ३० प्रतिशत पाइएको छ । काठमाडौंमा लागूऔषधको कारोबार हुने मुख्य स्थल कलंकी हो । त्यसपछि नयाँ बानेश्वर, रामहिटी, कोटेश्वर, चाबहिल, बौद्ध, वसन्तपुर, नयाँ बसपार्कलगायतका क्षेत्रमा समेत यसको कारोबार हुने गरेको पाइयो । कारागारमा समेत धेरैजसो कैदीहरू लागूऔषध अपराधकै रहेका छन् । पछिल्लो ३ वर्षको तथ्यांकले समेत यही देखाएको छ ।