पानी जसरी बर्सन्छ बलिउड नायिकाको लागि पैसा
बलिउड नगरी धेरैका लागि सपना र भबिष्यको केन्द्र हो । युवायुवतीहरु बलिउड नगरीमा जम्नका लागि धेरै नै कोशिश गर्छन् । तर थोरै मात्र सफलताको शिखर चढ्न सफल भएको पाइन्छ । बलिउड नगरीमा प्रबेश गरेका थोरै मात्र कलाकार सफल छन् । सफल कलाकारको आम्दानी र जिवनशैली धेरैले सोचेको भन्दा फरक छ । आखिर एक सफल नायिकाको कमाई कतिसम्म हुन्छ त ? धेरैका लागि यो कुरा उत्सुकताको बिषय बन्न सक्छ ।
बलिउडमा नायिका ऐश्वर्या रायको ब्रान्ड भ्यालु बिहे पश्चात पनि कम भएको छैन । एउटा विज्ञापनमा काम गरेबापत्त ४ करोड सम्म पारिश्रमिक लिने ऐश्वर्याले पछिल्लो चलचित्र ‘रोबट’ का लागि ६ करोड रुपियाँ लिएकी थिइन् ।
नायिका करिना कपुरको ब्रान्ड भ्यालु निक्कै अगाडि छ । चलचित्र ‘हिरोइन’ का लागि ८ करोड रुपियाँ पारिश्रमिक लिएकी करिनाले एउटा विज्ञापनमा काम गरेको ३ करोड लिने गर्छिन् । यो बर्ष मात्र उनले २५ वटा विज्ञापनका लागि काम गर्ने पक्का छ । जसले गर्दा ७० करोड भन्दा बढि रकम करिनाको खातमा यो बर्ष जाने निश्चित छ ।
नायिका प्रियंका चोपडाको करिअर अहिले उचाइमा छ । यसैले पनि उनको ब्रान्ड भ्यालु बढेको बढै छ । एउटा चलचित्रमा अभिनय गरेबापत ९ करोड सम्मको पारिश्रमिक लिने प्रियंकाको विज्ञापन मोडलिङको रकम पनि महंगो छ ।
नायिका कटि्रना कैफ पनि अहिलेकी सर्वाधिक महंगी नायिका हुन् । हालै मात्र ४ वटा अवार्ड कार्यक्रममा आफ्नो प्रस्तुती दिएबापत्त १० करोड पारिश्रमिक लिएकी कैफले एउटा सिनेमामा काम गरेको ४ करोड पारिश्रमिक लिने गर्छिन् । उनको हातमा पनि २० वटा भन्दा बढि विज्ञापन छन् ।
नायिका विपशा बासुको ब्रान्ड भ्यालु पनि अग्रस्थानमा नै छ । एउटा सिनेमामा काम गरेको ३ करोड सम्म पारिश्रमिक लिने बाशुको हातमा पनि दर्जन विज्ञापन छन् । नायिका दिपिका पादुकोण अहिलेकी महंगी नायिकाको रुपमा परिचित छिन् । डेढ दर्जन विज्ञापनमा अभिनय गरिरहेकी पादुकोण एउटा सिनेमाका लागि साढे २ करोडसम्म पारिश्रमिक लिने गर्छिन् । यस्तै उनले एउटा विज्ञापनका लागि ३ करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् । यो बर्ष मात्र उनले ५ वटा सिनेमामा काम गरिसकेकी छिन् । अहिले बजारमा दिपिका र अनुष्का शर्मा बिच ब्रान्डको बिषयमा चर्काचर्की नै पर्ने गरेको छ । पछिल्लो समय दिपिका र अनुष्का सर्वाधिक धेरै ब्रान्ड बोक्ने नायिकाको सूचिमा पर्छन् ।
नायिका विद्या बालन पनि एक सिनेमाका लागि साढे २ करोडसम्मको पारिश्रमिक लिने गर्छिन् । बलिउड नायिकाहरुको कमाई सुन्दा नै धेरैलाई अचम्म लाग्ने गरेको छ । धेरैको विश्लेषण छ, बलिउडमा सफल कलाकारको झोलिमा पैसा पानी जसरी बर्सन्छ ।