रत्नपार्कमा चलचित्रकर्मीको सांकेतिक आत्महत्या(फोटो फिचरसहित)

संचारमन्त्रीले आफ्ना माग प्रति कुनै पनि सुनुवाई नगरेपछि चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनलाई व्यापक बनाउदै लगेका छन्

। वुधबार चलचित्र बिकास बोर्डमा तालाबन्दी गरेर आन्दोलनको सुरुवात गरेका चलचित्रकर्मीहरु शुक्रबार सडकमा नै निस्किएका छन् । काठमाण्डौको भृकुटीमण्डमा जम्मा भएका चलचित्रकर्मीहरु विभिन्न नारा लगाउदै रत्नपार्क स्थित शान्तिबाटीकामा पुगेका थिए । भृकुटीमण्डपबाट सुरु भएको चलचित्रकर्मीहरुको र्‍याली पुतलीसडक, बागबजार हुदै रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । शुक्रबारको विरोध प्रदर्शन कार्यक्रममा चलचित्रकर्मीहरुको उल्लेख्य सहभागीता थियो । चलचित्रकर्मीहरुले सडक नै अवरुद्ध हुनेगरी र्‍्याली निकालेका थिए । र्‍यालीमा सहभागी भएका चलचित्रकर्मीहरुले ‘संचारमन्त्री होशियार’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘चलचित्रकर्मीको नेतृत्वमा विकास बोर्डमा अध्यक्ष नियुक्त गर’ जस्ता नाराहरु लगाएका थिए । भृकुटीमण्डपबाट र्‍याली निकाल्दै रत्नपार्क पुगेका चलचित्रकर्मीहरुले रत्नपार्कको आकाशे पुल तल सांकेतिक रुपमा आत्महत्या गरेका थिए । विरोधका लागि टाउकोमा वाधेको कालो कपडा घाटिमा बेरेर उनीहरुले सांकेतिक रुपमा आत्महत्या गरेका हुन् । सरकारले सिनेमा क्षेत्रलाई आत्महत्या गर्न वाध्य बनाएको भन्दै उनीहरुले सांकेतिक रुपमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
शुक्रबारको आन्दोलनमा कलाकार देखि प्राविधिकहरुको सहभागीता उल्लेख्य थियो । कोणसभामा बोल्दै आन्दोलनमा उत्रिएका विभिन्न संघसंस्थाका अध्यक्षहरुले आन्दोलनको सुनुवाई नभएसम्म चुप लागेर नबस्ने बताए ।
यसैबिच चलचित्रकर्मीहरुले आइतबार काठमाण्डौको नयाँ बानेश्वरमा सडक नाटक देखाउने बताएका छन् । संचारमन्त्रीले आफुहरुलाई झुटा आश्वासन दिएर वेइमानी गरेको बिषयलाई सडक नाटकमा देखाउने चलचित्रकर्मीहरुको भनाई छ ।