यस्तो बन्दैछ गोरखा स्मारक (फोटो फिचरसहित)

बेलायती साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएका ६० हजार नेपालीको सम्झना र सम्मानमा स्याङ्जाको फेदीखोला-८ स्थित साल्मेडाँडामा ३ सय रोपनी जग्गामा गोरखा स्मारक बन्न लागेको छ । यस क्षेत्रमा गोरखा समाधि, गोरखा म्युजियम, जातीय सांस्कृतिक ग्राम, गोरखा टावरसँगै ५ डिब्बाको रेल सेवा सञ्चालन गर्ने लक्ष्य आयोजक संस्था गोरखा भूतपूर्व सैनिक संघ(गेसो) ले लिएको छ । गोरखा स्मारकका विशेषता यस्तो हुनेछ

१) गोरखा समाधि हाम्रा पुर्खा विश्वका जहाँ-जहाँ मारिएका थिए, ती देशबाट अस्तुको रुपमा एक मुठी माटो ल्याइनेछ र तिनै पुर्खाको अस्तु राखेर १७ जातिको साझा समाधिस्थल निर्माण गरिने छ । यो समाधिस्थल गोरखाहरुमाथि गरिएको बि्रटिस अत्याचार र कुकर्मका लागि चिहान बन्ने छ । जब बि्रटिसहरुले यो पवित्र स्थानको भ्रमण गर्नेछन्, तिनको शिर निहुरिने छ । विश्व समुदायका मानिसहरुलेे वास्तविकता थाहा पाउने छन्, ‘नेपाल र नेपाली नागरिकलाई दुरावस्थामा पुर्‍याउने को हुन् ? यो समाधिस्थल सारा नेपाली र संसारभरीका शान्तिका पक्षधरहरुको पवित्र तीर्थस्थल बन्नेछ । सबै नेपालीले आफ्ना पुर्खाको सम्झना र सम्मानमा यही समाधिस्थलमा गएर पूजा गर्नेछन् । नेपाल घुम्न आउँदा अन्य राष्ट्रका प्रमुख र विदेशी पर्यटकहरूले पनि यो समाधिस्थलमा गएर श्रद्धा व्यक्त गर्नेछन् । समाधिस्थलमा पल्टनियाँ काइदाले प्रत्येक बिहान-बेलुका बिगुल र पाइप बजाएर पुर्खाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिनेछ । २) गोरखा म्युजियम यो म्युजियम (संग्रहालय) संसारका अन्य म्युजियमभन्दा भिन्न किसिमको हुनेछ । यहाँ अहिलेसम्म बि्रटेन र नेपालमा नलेखिएको गोरखा सैनिकहरूको इतिहास लेखिने छ । विश्वलाई अहिलेसम्म नभनिएको सत्य इतिहास दुरुस्त र सटीकरुपमा यहींबाट भनिने छ । विश्वले थाहा पाउनैपर्ने, तर अहिलेसम्म थाहा नदिइएको इतिहास थाहा दिइनेछ । गोरखा सैनिकहरूलाई बि्रटिस सेनामा भर्ना सुरु गर्दा नेपालीहरूका विशेष गरेर पहाडमा बस्ने मंगोल नस्लका मतवाली जाति तथा खस-आर्य जातिका जनताका आर्थिक, राजनीतिक, सामाजिक-सांस्कृतिक अवस्था कस्तो थियो ? भर्तीप्रथाबाट हामी जनताको बर्बादी र हाम्रो राष्ट्रको कंगाली कसरी एकसाथ भयो ? अहिलेसम्म पनि बि्रटिस शासकले रोजगार दिने नाममा कसरी मानव-व्यापार गरिरहेको छ ? यसरी गोरखा सैनिकहरूमाथि गरिएको चरम शोषण र अमानवीय व्यवहारका तथ्य, प्रमाण र अभिलेख यस म्युजियममा दुरुस्त राखिनेछ । यहाँ बि्रटिस शासनसत्ताबाट प्रभावित भएर लेखिएको गलत इतिहासको पुनःलेखन गरिनेछ । यहाँ बि्रटिस साम्राज्यको नस्लवाद र अत्याचारको कथा पनि लेखिनेछ । यस्तो लेखाइले बि्रटिस साम्राज्यले हाम्रो विषयमा निर्माण गरेको गलत मानकलाई पनि विस्थापन गर्नेछ । फलतः हामीलाई गरिब र दरिद्र जनताको रुपमा हेर्ने विश्वको नजरमा फेरबदल आउनेछ । विश्वले थाहा पाउनेछ : नेपाल गरिब देश थिएन, नेपालीहरू पनि दरिद्र थिएनन्, नेपालको दुर्गतिमा बि्रटिस साम्राज्य जिम्मेवार छ । यसबाट संसारले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ र संसारभरि बसिरहेका नेपालीहरूको शिर पनि उचो हुनेछ ।
३) जातीय सांस्कृतिक ग्राम ब्रिटिस साम्राज्यको पक्षमा लड्दा नेपालका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, शेर्पा, नेवार, तामाङ, पुन, याक्खा, ठकुरी, बाहुन, थकाली, छेत्री, दलित, भुजेल र दुरा गरी १७ जातिका मानिस मारिएका थिए । यहाँ यिनै जातिहरूको आˆनो मौलिक संस्कार र संस्कृतिअनुसारका परम्परागत सांस्कृतिक घर बनाउनेछौं । यी सांस्कृतिक घर सबै जातिको साझा प्रतीक हुनेछन् । नेपालमा भाँडिँदै गएको जातीय सद्भावलाई कसिलो बनाउन यो साझा प्रतीकले सहयोग गर्नेछ । यहाँ यी १७ वटै जातिका विषयमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि विशाल अनुसन्धान केन्द्र पनि बन्नेछ । प्रत्येक जातीय घरलाई हामी जातीय अनुसन्धान केन्द्रका रुपमा विकास गरिनेछ । नेपालका यी जातिमाथि शोध गर्न चाहनेहरूका लागि यो एउटा विश्वविद्यालयजस्तै हुनेछ । यहाँ संसारभरिका शोधकर्ताहरू आउनेछन् र आफ्नो जातिको विषयमा व्याख्या गर्न जान्ने युवायुवतीले रोजगार पनि पाउनेछन् ।
४) गोरखा टावर यो टावर नेपालकै सबैभन्दा अग्लो टावर हुनेछ । तीन सय जनाको क्षमता धान्न सक्ने यस अत्याधुनिक टावरमा रेष्टुराँ पनि हुनेछ । यस्तो अत्याधुनिक रेष्टुराँमा नेपालका सबै प्रकारका मौलिक खानपान राखिनेछ । यो टावरबाट पोखराका सबै पर्यटकीय स्थलको मनोरम दृश्य मात्रै होइन, अन्नपूर्ण, धौलागिरी, माछापुछ्रे, गणेश हिमाललगायतका दर्जनौ हिमशिखर नजिकैबाट अवलोकन गर्न सकिनेछ । यहींबाट म्याग्दीको पुनहिलदेखि पश्चिम क्षेत्रका सुन्दर पहाडी शृंखला पनि देखिनेछ । यहींबाट सूर्याेदय र सूर्यास्तको मनोरम दृश्य देखिनेछ । पर्यटकीय हिसाबले यो टावर संसारकै महत्वपूर्ण केन्द्र बन्नेछ । यहाँ हजारौं पयर्टक आउनेछन् । यसबाट नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ । नेपालको आर्थिक समृद्धिका लागि एउटा महत्वपूर्ण खम्बा साबित हुनेछ यो टावर । यहाँ सयौं युवायुवतीले रोजगार पनि पाउनेछन् ।
५) पाँच डिब्बाको रेल यहाँ ५ डिब्बाको रेल पनि बनाइनेछ । टुक-टुक गरेर १५/२० किमीको गतिमा चल्ने यो रेल साल्मेडाँडाबाट मटीखान, लुम्ले भ्यु हुँदै भरतपोखरीसम्म जानेछ । यो अनुपम रेलवेले सधैं भरि हजारौंको संख्यामा नेपाली तथा विश्व भरका पर्यटकहरुलाई आकषिर्त गर्ने छ । रेलमा यात्रा गर्ने यात्रीहरुले हरिया प्राकृतिक छटाहरुका बीचबाट अद्भूत प्राकृतिक दृश्यको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् र रेलमै चढेर नजिकैबाट अन्नपूर्ण, माछापुच्छे्र र धौलागिरि हिम श्रृंखलालाई हेर्न पाउनेछन् । रेलका डिब्बाभित्र आधुनिक सुविधा उपलब्ध हुनेछन् । रेलबाट नजिकैको स्मारक क्षेत्र हेर्न सकिनेछ । भ्रमणमा आएकाहरु प्ाार्क नजिकै ओर्लनेछन् । गोरखालीहरुको जीवनका बारेमा अध्ययन अवलोकन गर्न पाउनेछन् र बहादुर भनिएका तर अंग्रेज साम्राज्यका लागि ज्यान गुमाउनु परेका गोरखाहरुलाई श्रद्धाञ्जली दिन सक्नेछन् ।