कर्णेल लामा छुटाउन ५० हजार पाउण्ड धरौटी र प्रधानमन्त्रीको चिठी

४ माघ, काठमाण्डौ । युद्ध अपराधको अभियोगमा लण्डनमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई छुटाउन नेपाल सरकारले सवैखाले उपाय अपनाउने भएको छ ।

पहिले कुटनीतिक पहल गर्ने र त्यसबाट पनि सम्भव नभए धरौटीमा भए पनि छुटाउने सरकारले तयारी गरेको छ । परराष्ट्र मन्त्रालय निकट स्रोतका अनुसार कुटनीतिक पहलका क्रममा नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेख्दै लामालाई रिहा गर्न आग्रह गर्नुहुने छ । डा. भट्टराईले पठाउने पत्रको ड्राफ्ट परराष्ट्रले तयार गरिसकेको छ । बिहीवारको मन्त्रिपरिषद्बाट यससम्बन्धी निर्णय गरेपछि प्रधानमन्त्री चिठीमा हस्ताक्षर गर्ने बताइएको छ । यसैगरि परराष्ट्रमन्त्री नायारणकाजी श्रेष्ठले पनि युरोपेली युनियन र राष्ट्रसंघीय निकायहरुलाई पत्र लेखेर लामाको ससम्मान रिहाईको आग्रह गर्न लाग्नुभएको छ । ‘पत्र तयार गर्दै छौं, छिटै हस्ताक्षर गरेर पठाउँछौ’ मन्त्री श्रेष्ठले बुधबार साँझ भन्नुभयो ।

५० हजार पाउण्ड धरौटी

अदालती प्रकृयामा छिरिसकेकाले कुटनीतिक पहलबाट लामा रिहाई हुने सम्भावना निकै कम देखिन्छ । बेलायतस्थित नेपाली दूतावासले त्यहाँका कानुन ब्यबसायी र त्यहाँको लिड्स युर्निभर्सिटीमा कानुनका प्राध्यापक रहेका डा. सूर्य सुवेदीसँग परामर्श गरेको थियो । राजनीतिक तहमा दबाब दिएर लामा छुट्ने सम्भावना नरहेको निष्र्कष निस्किएपछि नेपाल सरकारले धरौटीमा भए पनि रिहा गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले लामाको धरौटीका लागि ५० हजार बेलायती पाउण्डको ब्यबस्था गर्ने तयारी गरेको छ । यससम्बन्धी प्रस्ताव आजै वस्ने मन्त्रिपरिषद् वैठकमा पेश गरिने स्रोतको दावी छ । राष्ट्रसंघीय सुडान मिसनमा कार्यरत लामा बेलायतमा रहेकी श्रीमतीलाई भेट्न गएका बेला जनवरी ५ तारिखमा लण्डन मेट्रो पुलिसको प्रति आतंकबाद इकाईद्वारा पक्राउ परेका थिए । उनको अर्को सुनुवाई जनवरी २४ (माघ १०) मा हुनेछ