रोजगारी नभए बेरोजगारी भत्ता

राज्यले युवाहरुलाई रोजगारी दिनुपर्नेर नभए बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र ट्रेड युनियनहरुद्वारा आज यहाँ आयोजित 'ट्रडे युनियन, युवा र आइएलओ मापदण्ड' विषयक गोष्ठीमा सरोकारवाला युवाहरुले सरकारले युवाहरुलाई क्षमताअनुसारको रोजगारी दिन नसकेकाले नेपालका शिक्षित युवाहरु विदेश पलायन हुन परेको गुनासो गरेका छन्।
राज्यले युवाहरुलाई श्रम नीति निमार्णमा सहभागी बनाउनुपर्ने र स्पष्ट श्रम नीतिको व्यवस्था हुनुपर्ने युवाहरुको भनाइ थियो। श्रम तथा रोजगार मन्त्रालयका सचिव विनोद केसीले स्पष्ट श्रम नीति निर्माण वा नीति संशोधनका बारेमा सरकार सकारात्मक भएको बताउँदै दातृ निकाय र सम्बन्धित सरोकारवालालाई श्रमिकको सीप र क्षमता वृद्धिका लागि आग्रह गरे।
नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु रिमालले आफ्नो कार्य क्षेत्रमा युवाहरुको उपस्थितिलाई बढाउन रोजगारीको सृजनामा जोड दिन, उत्पादनशील, क्षेत्रहरुमा युवाहरुको पहुँच कायम गरी देशको आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक क्षेत्रका सबै तहमा युवाहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।
उनले भने, 'नेपालको सन्दर्भमा व्यावहारिक शिक्षा नभएका कारण पनि युवाहरु वेरोजगारी हुनुपरेको र युवाहरु विदेशिनु परेको हो।'
अखिल नेपाल टे्रड युनियनका महासचिव गणेश रेग्मीले युवा जनशक्तिलाई राज्यले ठिक ढङ्गले परिचालन गर्न नसक्दा लाखौँ युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको छ भन्दै राज्यले युवाहरुको भावना बुझेर देश निमार्णमा लगाउने वातावरणको सिर्जना गर्नुपर्ने बताए। भोलिसम्म सञ्चालन हुने गोष्ठीले युवा र श्रम सम्बन्धबारे कसरी अगाडि जाने भन्ने नीति तय गर्नेछ। रासस