कांग्रेसमा पनि चुनावी सुरक्षा दस्ता

१४ साउन, काठमाण्डौं । संविधानसभा चुनावमा मतदाता र कार्यकर्ता सुरक्षाका लागि नेपाली कांग्रेसले पनि अलग्गै ‘सुरक्षा दस्ता’ तयार गर्ने भएको छ ।
congress flagसुरक्षा दस्ताका लागि कार्यकर्ता तहबाट नेतृत्वमाथि व्यापक दबाब परेपछि यो विषयलाई पार्टी केन्द्रीय समितिको आगामी बैठकमा मुख्य एजेन्डाका रुपमा प्रस्तुत गरिने भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले सुरक्षा दस्ता गठनका लागि कार्यकर्ता तहबाट सुझावसहित दवाव आइरहेको स्वीकार गरे । ‘मतदाता र बुथ सुरक्षाका विषयमा पार्टीले संस्थागत रुपमै संरचना बनाउनुपर्ने सुझाव आएको छ,’ सिटौलाले भने, ‘कस्तो संरचना बनाउने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल गरी छिट्टै निर्णयमा पुग्छौं ।’
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय नीति तथा प्रशिक्षक प्रतिष्ठानले आइतबार आयोजना गरेकेा प्रशिक्षक प्रशिक्षणमा बोल्ने अधिकांशले सुरक्षा दस्ता गठन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले यस्तो संयन्त्र नभए प्रचारप्रसार र मतदान गर्ने वातावरण बनाउन कठिन हुने धारणा राखे ।