गाडीले पेटीमा चढेर ठक्कर दिदा कतारमा तीन नेपालीको मृत्यु

 असार २८ – कतारमा गाडीको ठक्करबाट तीनजना नेपालीको ज्यान गएको छ । राजधानी दोहामा रहेको सातीया ग्रुपमा काम गर्ने उनीहरु काम सकेर फर्किन कम्पनीको गाडी पर्खिरहेको बेला विपरित दिशाबाट आएको गाडीले पेटीमा चढेर ठक्कर दिएको हो । ज्यान गुमाउनेमा चितवन जुटपानी ४ सगुनटोलका २० बर्षका अर्जुन गौतम, बर्दियाका आशराम थारु र पतावरी चौधरी रहेको इभाष्टो नेपाल म्यानपावर कम्पनी सामाखुशीका सञ्चालक शम्शेर गुरुङले जानकारी दिनुभयो । उहाँहरु यसै म्यानपावरबाट दुई महिनाअघि कतार जानुभएको थियो । गाडीको ठक्करबाट चितवनकै सञ्जित महतो भने घाइते हुनुभएको छ । टाउकोमा चोट लागेका महतोको कतारको अस्पतालमा उपचार भैरहेको म्यानपवरका सञ्चालक गुरुङले जानकारी दिनुभयो । ज्यान गुमाएहरुको पोष्टमार्टम भइसकेको र कतारको कानुन अनुसार बिमा लगायतका सुबिधाका लागि कम्पनीले दुतावासलाई अनुरोध गरिसकेको गुरुङले बताउनुभयो । त्यस्तै नेपालबाट पाउने बिमाको रकम समेत उपलब्ध गराउन र मृतक नेपालीहरुको शब ल्याउन प्रकृया अगाडि बढाइएको उहाँले बताउनुभयो । छोराको कतारमा ज्यान गएको खबरले चितवन जुटपानी ४ सगुन टोलमा रहेको गौतमको घर परिवारमा रुवाबासी भएको छ । दुर्घटनामा अरु ४ जना भारतीय नागरिकको पनि ज्यान गएको छ ।