तीजको गीतमा पुतली कोमल, पोइला जान पाम छोडेर र्यापमा (फोटो र भिडियो)
समय अनुसार तीजको गीतको स्वाद पनि फेरिन थालेको छ । पहिला पहिला तीजको गीतमा नारीहरुको बेदना हुन्थे, सासु र बुहारीको जुहारी समावेश हुन्थे । तर २१ औ शताब्दीमा तीजको गीतमा पनि पप र र्यापको मिश्रण गर्न थालिएको छ ।
यो भिडमा कोमल वलीलाई जित्न त कसले नै सक्छ र । शुक्रबार बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीको एक हलमा पुग्दा कोमल वली आफ्नो नयाँ तीज गीतको म्यूजिक भिडियो छायांकनमा व्यस्त देखिइन् । कहिले पोइला जान पाम त कहिले शिव जस्तै पति पाउँ भनेर गीत गाउने कोमल यसपटक भने भगवानसँग कुनै प्रकारका वर माग्दै थिइनन् । यसपटक उनले तीजको गीतमा पप र लोकको मिश्रण गरेर दर्शकलाई नयाँ स्वाद पस्कन लागेको बताइन् । तीजको लहर आयो गाउँ शहरमा नाँच गान हुन थाल्यो घरघरमा मरक्क कम्मर मर्काई घुमी नाचौन झुम झुम झुम झुम झुमी नाचौन यो शब्दमा कोमल आफ्नो अनुहार छोपेर नृत्य गर्दै थिइन् । उनको साथमा र्यापर गीरिश खतिवडाले भिडियोमा र्याप हानिरहेका थिए । यो गीतमा शब्द, म्यूजिक र एरेन्ज कोमल र गीरिसले नै मिलेर गरेका छन् । यसैले पनि कोमलको यो गीत गाउँ भन्दा शहर केन्दि्रत देखिएको छ । हरेक बर्षको तीजमा एउटा न एउटा फण्डा झिकेर चर्चामा आइरहने गायिका कोमल वली यो बर्ष भने नयाँ शैलीको म्यूजिक भिडियो र गीतका कारण श्रोताको नजरमा पर्ने तयारीमा छन्