नवजात शिशु झाडीमा फ्याँक्ने आमा पक्राउ

निमुसंगम घर्ती २० असार, दाङ । आफूले जन्माएको नवजात शिशु झाडीमा फ्याँक्ने आमा फेला परेकी छन् । दाङको हापुर-१ घर भई सोही गाविस-४ पतेनीमा माइतीघरमा बस्दै आएकी २३ वर्षीया दुर्गी बस्नेतले मंगलबार बच्चा जन्माएर सालनालसहित झाडीमा फालेर भागेकी थिइन् ।



शिशुलाई उद्धार गरी आमाको खोजी कार्यमा लागेका गढीटाकुरा महिला सहकारी संस्थाका सदस्यहरुले दुर्गी बस्नेतलाई माइतीको खेत खन्दै गरेको अबस्था पक्राउ गरेका हुन् । आफूमाथि कसैले शंका नगरोस् भनेर माइतीको खेतमा काम गर्न लागेको उनले स्विकार गरेको स्थानीय रुक्मीणा न्यौपानेले जानकारी दिनुभयो । शिशुलाई जन्म दिई फालेको पत्ता लागेपछि उनीहरुले दुर्गीलाई विहीवार प्रहरीको जिम्मा लगाएका छन् ।

दुर्गीका श्रीमान् बमबहादुर बस्नेत २ वर्षदेखि मलेसियामा बस्दै आएको र २०६९ असोजमा नाम थाहा नभएको चितवन घर बताउने व्यक्तिसँगको यौनसम्पर्कबाट गर्भ भई छोरा जन्माएपछि समाजमा अपमानित हुने डरले बच्चा फ्याँकेको बताइकी छिन् ।

यसैवीच जिल्ला बाल कल्याण समितिका अध्यक्ष रविलाल पन्थको अध्यक्षतामा बसेको बाल कल्याण समितिको बैठकले शिशुलाई आमाको जिम्मा लगाई तत्काल उपक्षेत्रीय अस्पतालमा राखी उपचार गराई राखेको छ । बैठकले थप व्यवस्थापनका लागि पुनः पहल गर्ने निर्णय गरेको छ ।

यस्तै असार १४ मा दाङकै देउखुरीस्थित कुलपानी सामुदायिक वनमा भेटिएका अन्दाजी साढे दुई वर्षका शिशुलाई अहिले कसैले खोजतलास गरेको छैन । घाँस काट्न गएकाहरुले रोइरहेको अवस्थामा फेलापारी शसस्त्र प्रहरीको जिम्मा लगाएका थिए । तर सवैतिर खबर गरेपनि उक्त बालकलाई लिन कोही नआएको ज्वालामाई गणका गणपति मानबहादुर रजालीले जानकारी दिनुभयो ।onlinekhabar