पूर्वराजाले भने, राहत बाँड्दा कसको टाउको दुख्छ?
सरकारले राहत वितरणमा रोक लगाएपछि हिमानी कोषले आज कैलालीको टीकापुरका बाढी पीडितका लागि वितरण गर्ने भनेको राहत सामाग्री जिल्ला दैवी प्रकोप उद्दार समितिलाई हस्तान्तरण गरेको छ। टीकापुरमा आयोजित एक समारोहकाबीच कोषका सचिव विजया लक्ष्मी राणाले जिल्ला दैवी प्रकोप उद्दार समितिका पदाधिकारीहरुलाई हस्तान्तरण गरेकी छन्।
राणाले जिल्ला दैवी प्रकोप उद्दार समितिका फोकल पर्सन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे र रेडक्रस कैलालीका सभापति उत्तम जोशीलाई हस्तान्तरण गरेकी हुन्। सो अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह लगायत राजपरिवारका अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो।
राहत हस्तान्तरण पश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजाले विधिको शासनको पालना गर्दै नेपाल सरकारको निर्णय अनुसार नै राहत सामाग्री हस्तान्तरण गरेको बताए।
उनले आफूहरुको उद्देश्य राजनीति गर्ने नभई दुःखमा परेका दाजुभाई दिदिबहिनीहरुलाई मद्धत गर्ने रहेको समेत बताए।
'हाम्रो उद्देश्य भनेको दुःखमा परेका दाजुभाई दिदिबहिनीहरुलाई अलिकति मद्दत गर्न सकिन्छ कि भन्ने मात्रै हो' उनले भने–'तर कसको टाउको दुख्छ मलाई थाहा छैन।' उनले राहत सामाग्री वास्तविक बाढी पीडितले पाउनुपर्ने आफूहरुको चाहना रहेको भन्दै त्यसै अनुरुप जिल्ला दैवी प्रकोप उद्दार समितिले काम गर्नेमा आफू आशावादी रहेको बताए।
पूर्व राजपरिवारका सदस्य सहित टीकापुर पुगेका पूर्वराजाको हजारौंको संख्यामा रहेका स्थानीय बासिन्दाले स्वागत गरेका थिए।
पूर्वराजाको स्वागतमा लामवद्ध हजारौं स्थानीयले फूलमाला सहित बाजागाजाले स्वागत गरेका थिए। कैलालीको सदरमुकाम धनगढीबाट टीकापुर जाँदै गर्दा पूर्वराजालाई जिल्लाको राजिपुर, बौनिया, लम्की, दुर्गौलीमा समेत ठूलो संख्यामा उपस्थित स्थानीयले स्वागत गरेका थिए। स्वागतमा उत्रिएका स्थानीयले पूर्वराजाका पक्षमा नाराबाजी समेत गरेका थिए।
राहत हस्तान्तरण कार्यक्रम अघि पूर्वराजाले नारायणपुर गाविस सत्तीस्थित पदम प्रकाशेश्वर महादेवको मन्दिरमा पूजाअर्जना गरेका थिए। सो मन्दिर नेपालमा रहेका अन्य शिव मन्दिर भन्दा फरक छ। अन्य शिव मन्दिरमा रहेको शिवलिङ्ग पश्चिम दिशातर्फ फर्किएको हुने गरेपनि यस मन्दिरमा पूर्वी दिशातर्फ फर्किएको छ। शिवलिङ्ग पूर्वी दिशातर्फ फर्किएका कारण यसको महत्व फरक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुर कायस्थले जानकारी दिए।
त्यसैगरी पूर्वराजपरिवार सदस्यहरुले टीकापुरस्थित पार्क अवलोलन गरेका छन्।
२०२४ सालमा तत्कालिन राजा महेन्द्रले कर्णाली नदी किनारमा रहेको टीकापुर पार्क क्षेत्रमा २८ दिन बसेर स्वास्थ्य लाभ लिएको सम्झनामा पार्क स्थापना भएको हो।
पार्कमा दुई वटा घर रहेका छन्। जसमध्ये एउटालाई महेन्द्र आरोग्य गृह र अर्कोलाई विरेन्द्र विश्राम बाटिका भनिन्छ। राजपरिवारका सदस्यहरुले दुईवटै घरको अवलोकन समेत गरेका छन्।
विरेन्द्र विश्राम बाटीकाको अवलोकनका क्रममा पूर्वराजाले पूर्व राष्ट्रिय सभाका सदस्य कैया चौधरीसँग आफ्ना बुबा महेन्द्रको फोटोको बारेमा सोधेका थिए। महेन्द्र आरोग्य गृहमा आफ्ना बुबामुमाको फोटो देखेपछि पूर्वराजा केही समय गम्भीर बनेका थिए। उनले केही समय भित्तामा झुण्ड्याईएको तत्कालिन राजारानीको फोटो हेरिरहे।
महेन्द्र आरोग्य गृहकै अर्को कोठामा स्वर्गीय राजा बिरेन्द्रले टीकापुर पार्कमा स्थापना भएको पञ्चायत रजत जयन्ती स्तम्भको शिलान्यासका दिन खिचिएको फोटो राखिएको थियो। उक्त फोटो केहीबेर हेरेपछि पूर्वराजाले पूर्व युवराज्ञी हिमानी शाहलाई त्यो फोटोका बारेमा जानकारी गराएका थिए।