कारमै आउँछन् ग्राहक खोज्दै युवती
काठमाडौं- ठमेलबजार अचेल यौनबजारका रूपमा परिचित छ। ठमेल क्षेत्रमा सञ्चालित मसाज सेन्टर, डान्सबार तथा रेष्टुराँ यौनव्यापारकै लागि सञ्चालन गरिएका छन्। ती मसाज सेन्टरमा यौनव्यवसायमा संलग्न गराई युवतीमाथि व्यवसायीले शोषण गरेको कथा त नौलो होइन, शारीरिक, मानसिक तथा श्रम शोषणको सिकार भएका ती अवोध युवती अचेल म्यानपावर कम्पनीबाट पनि ठगिन थालेको रहस्य खुल्न थालको छ। मसाज सेन्टरमा काम गर्न बाध्य पारिएका युवतीको उद्धार कार्यमा संलग्न केही संस्थाको अनुगमनमा यस्तो तथ्य सार्वजनिक भएको हो। म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा पठाइदिने प्रलोभन दिई ती युवतीले सहकारी वा यस्तै कुनै निकायमा संकलन गरिएको रूपैया लिई बेपत्ता हुने गरेको घटना भेटिएको ती संस्थाका प्रतितिनिधिले जानकारी दिए। पछिल्लो समयमा यौनव्यवसायमा संलग्न युवती सहकारीमा आम्दानी रकम जम्मा गर्नथालेका छन्। यौनव्यवसायमा संलग्न गराइएका केही युवती घर फर्किन, अन्य व्यवसाय गर्न वा वैदेशिक रोजगारमा जान इच्छुक रहेकाले यसको फाइदा एजेन्टमार्फत म्यानपावर कम्पनीले लिने गरेको विगत सात वर्षदेखि मसाज सेन्टरमा कार्यरत युवतीको उद्धार कार्यमा संलग्न चेन्ज नेपालका प्रतिनिधिले साँघुलाई बताए। आफ्नो सुरक्षाको कारण भन्दै नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले मासिक १५ सय देखि २ हजार रूपैयाँ कमाउने युवती बढी ठगिने गरेको बताए। मसाज सेन्टरमा कार्यरत युवतीको उद्धारका लागि भन्दै चेन्ज नेपाल, स्टेप नेपाल तथा रक्षा नेपाल नामका संस्था क्रियाशील छन्।
युवतीको मूल्य
ती संस्थाको अध्ययनमा भेटिएको तथ्यअनुसार मसाज सेन्टरका युवतीको मूल्यको निर्धारण उमेर, अनुभव र सौन्दर्यमा मापन गर्ने गरिन्छ। ठमेल एरियामा सञ्चालित मसाज सेन्टरमा एकपटक यौनसम्पर्क गरेबापत ग्राहकले ४ सयदेखि १० हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्छ। ठमेल एरियामा मात्रै नगरपालिकाको स्वीकृति लिई करिब १ सय ५० वटा मसाज सेन्टर सञ्चालनमा रहेका भए पनि अनौपचारिक रूपमा २ सय ५० भन्दा बढी रहेका छन्। हरेक मसाज सेन्टरमा सरदर छजना युवती कार्यरत रहेको पनि चेन्ज नेपालका पदाधिकारीले बताए। ती पदाधिकारीका अनुसार ती मसाज सेन्टरमा १२ वर्षदेखि ४० वर्षसम्मका महिलालाई यौनव्यवसायमा संलग्न गराइएको छ। सुरुको अवधि अर्थात् तालिम अवधिमा व्यवसायीले युवतीमाथि थ्रुपै लागनी गरी प्रभावमा पार्ने गरेकाले केही महिनाको अन्तरालमा सेक्स एडिक्ट भइसक्ने भएकाले युवतीहरू पेसाबाट बाहिर निस्कन नसकेको अनुभव पनि ती संस्थाका पदाधिकारीहरू सुनाउँछन्। खासगरी २५ वर्षभन्दा कम उमेरका युवतीको माग अत्यधिक हुने गर्दछ भने व्यवसायीले पनि परीक्षणकालमा नक्कली गरगहना, मोबाइल, राम्रो खानेबस्ने व्यवस्था, जस्तो भन्यो त्यस्तै सेवासुविधा दिई युवतीलाई राख्ने गरेका छन्। त्यसै क्षेत्रमा काम गरिरहेका संस्थाका अनुसार गेस्टहाउस अहिले नयाँ यौनस्थलका रूपमा विकास भइरहेका छन्। त्यसले गर्दा अचेल ठमेल क्षेत्रमा साँझ सात बजेपछि सभ्य र सोझा युवायुवती हिंड्नै नसक्ने अवस्था छ। बाटैमा केटी चाहिएको सर भन्दै १२ देखि १५ वर्षका केटाहरू सोध्न आउने गरेका छन्। त्यसमा पनि ठमेलको सञ्चयकोष भवन आसपासमा यस्ता एजेन्टका रूपमा काम गर्ने युवाको उपस्थिति बाक्लो हुने गरेको छ। धेरै मसाज सेन्टर तथा गेस्ट हाउसले साइनबोर्डसमेत नराख्ने गरेकाले र ग्राहक ल्याएबापत् कमिसन पनि पाउने भएकाले पनि ती बालकहरू एजेन्टका रूपमा परिचालन गरिएको हुन्छ। मसाज सेन्टरका युवतीले दिनमा सरदर एक घन्टामा एकपटक यौनसम्पर्क गर्नुपर्ने अवस्था छ। ग्राहकको मागअनुसार बढी माग हुने युवतीले त त्यसभन्दा बढी नै सहभागी हुने गरेका छन्। केही संस्थाका अनुसार त्यसरी बढी समय यौन सम्पर्कमा संलग्न युवती एचआईभी एड्सको सबैभन्दा बढी खतराको सूचीमा पर्छन् नै, साथमा सेक्स एडिक्टसनले मानसिक अवस्था पनि कमजोर हुने गरेको छ।
कारमै आउँछन् युवती
धनाढ्य परिवारका महिला प्राइभेट कारमा ग्राहक खोज्दै ठमेलका मसाज सेन्टर र गेस्ट हाउसमा आउने गरेको भेटिएको चेन्ज नेपालले जनाएको छ। काठमाडौंका उद्यमीका श्रीमती, लाहुरे वा श्रीमान देशबाहिर भएका महिला कन्ट्याक्टमा मसाज सेन्टरमा आउने गरेका छन्। त्यसरी आउने महिलालाई भने केही उद्यमी वा पैसावाला ग्राहकले केही दिनका लागि उपत्यकाबाहिर वा कुनै छुट्टै होटलमा लैजाने पनि व्यवस्था मसाज सेन्टरले मिलाएको हुन्छ। त्यसो त, मसाज सेन्टरले नियमित ग्राहकलाई सस्तोमा उपलब्ध गराउने गरेका पनि छन्।
काँठ क्षेत्रकै बढी
मसाज सेन्टरमा काम गर्ने युवती काठमाडौं क्षेत्रआसपास जिल्लाका भेटिएका छन्। त्यसमा पनि जनजाति युवती गरिबीकी कारण मसाज सेन्टरमा आउने गरेका छन्। काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, धादिङ, दोलखा, रामेछाप, नुवाकोट जिल्लाका युवती ती क्षेत्रमा कार्यरत रहेका छन्।
आफ्नै सन्तानलाई ल्याइदिन्छन्
धेरै युवती गरिबीका कारण कामको खोजीमा काठमाडौंमा आउने क्रममा यस्तो व्यवसायमा संलग्न हुने गरको भनिए पनि कतिपयलाई भने आफ्नै बाबु वा श्रीमानले मसाज सेन्टरमा युवतीलाई ल्याइदिने गरेको पाइएको चेन्ज नेपालले जानकारी दिएको छ। चेन्ज नेपालका अनुसार, गरिबीका कारण पैसा कमाउनका लागि बुबा र श्रीमान्ले ल्याएर छोडेका उदाहरण थ्रपै छन्।
भिडियोसहित हेर्न तल बक्समा जानुहोस्।